प्रदेश २ : प्रमाणीकरण गर्न पठाएको २ विधेयक सुझावसहित फिर्ता
टुडेपाटी-
जनकपुरधाम, फागुन २६ गते ।
प्रदेश २ प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाएको २ विधेयक सुझावसहित प्रदेश प्रमुख डा. राजेश झा(अहिराज) ले फिर्ता पठाएका छन् ।
उनले स्वास्थ्यसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाएका हुन् ।
प्रदेशमा आफ्नै स्वास्थ्य सम्बन्धी कानुन बनाउन सामाजिक विकास मन्त्रालयले तयार पारेको स्वास्थ्यसम्बन्धी व्यवस्थापना गर्न बनेको विधेयक प्रदेशसभाबाट पारित भएर प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो ।
यद्यपि प्रदेश प्रमुख झाले विधेयकमा स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने धेरै विषयवस्तु छुटेको भन्दै फिर्ता पठाएका हुन् ।
विधेयकमा मातृत्व सुरक्षा लगायतका महत्त्वपूर्ण विषय नसमेटिएकाले सो विधेयक फिर्ता पठाएको प्रदेश प्रमुख झाले जानकारी दिए ।
Sponsored
उनले प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसमेत फिर्ता पठाएका छन् । विधेयकमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वलाई प्रदेश सरकारले पदकबाट सम्मानित गर्ने व्यवस्था गरिएको छ ।
तर कृषिको प्रधानता रहेको प्रदेश २ मा किसान लगायतका वर्गलाई नसमेटिएकाले विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सरकारले पदक बाँड्नका लागि चालू आवमा १० लाख रुपैयाँ विनियोजन गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विधेयक फिर्ता भएको सम्बन्धमा आफूलाई जानकारी नरहेको बताए ।
प्रमाणीकरणका लागि पठाइएको विधेयक प्रदेश प्रमुखले सुझावसहित बढीमा दुई पटक मात्रै फिर्ता पठाउन सक्ने उनको भनाइ छ । प्रदेश २ मा अहिलेसम्म ३९ वटा विधेयक प्रमाणीकरण भएर ऐन बनेको छ ।