TodayPati

सिरहामा ५० लाखमा बनेको कालोपत्रे सडक ६ महिनामै भत्कियो

विनय यादव-
सिरहा, फागुन २६ गते ।

सिरहाको अर्नमा गाउँपालिकामा निर्माण भएको पक्की सडक ६ महिना नबित्दै भत्किएको छ ।

अर्नमा गाउँपालिका–५ अन्तर्गत रामजानकी चौकदेखि कृष्णपुर सडकखण्ड गत आर्थिक वर्ष २०७५÷०७६ मा कालोपत्रे गरिएको थियो । सुरेश कुमार यादवको अध्यक्ष रहेको उपभोक्ता समितिले करिब १ किलोमीटर कालोपत्रे सडक ५० लाखको लागतमा निर्माण गरेका थिए ।

Sponsored

करिब १ किलोमीटर लम्बाई र २२ फिट चौडाईको सडक निर्माण गरिएको ६ महिनाभित्रै ठाउँ ठाउँमा भत्किएको थियो । सडक भत्किएपछि स्थानीयले अख्तियार दुरुपायोग अनुसन्धान आयोग बर्दिबास कार्यालयमा उजुरी दिएका थिए ।

तर, लामो समयपश्चात अख्तियारले चाँसो लिएको छ । अख्तियारको टोलीले फागुन दोस्रो साता यस सम्बन्धमा स्थलगत बुझेर छानबीन थालेको छ । सडकको निरिक्षण गरेको अख्तियारको टोलीले गाउँपालिका कार्यालयलाई सडक निर्माण सम्बन्धि प्रतिवेदन पठाउन निर्देशन दिएको छ ।

सडक निर्माण गर्न उपभोक्ता समिति र गाउँपालिकाका इन्जिनियरबीच आर्थिक लेनदेन भएपछि सडक निर्माणको काम कमसल भएको स्थानीयको आरोप छ ।

Sponsored

फस्ने डरले मर्मत गर्न खोज्दा स्थानीयको अवरोध

अख्तियारले चाँसो लिएपछि फस्ने डरले गाउँपालिकाले सडक भत्किएका ठाउँहरुमा जेसिभि लगाएर मर्मत गर्न खोज्दा स्थानीयले अवरोध गरेका छन् ।

गाउँपालिकाको इन्जिनियर दायाशंकर महतोले सडक मर्मत गर्न खोजेपछि अवरोध गरेको स्थानीय अगुवा प्रविण यादवले बताए । ’सेटिङमा कमसल काम गरी व्यापक भ्रष्टाचार भएको छ,’ उनले भने, ’फस्ने डरले पछि मर्मत गर्न खोजियो, तर हामीले भ्रष्टाचार लुकाउन दिँदैनौं ।’

गाउँपालिकाले बल प्रयोग गरी अनियमितता छोप्न र अख्तियारको फन्दाबाट उम्किन सडक मर्मत गर्न खोजेपछि अवरोध गरेको उनले जनाए ।

यता, अर्नामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द सिंहले भने कुनै किसिमको अनियमितता नभएको दावी गरे । सवारीको आवतजावत बढ्दा सडक भत्किन पुगेको उनको दावी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *