सप्तरीको तिलाठी कोइलाडीमा ५ करोडको भव्य ‘वाटर फन पार्क’ बन्दै
शुभ नारायण यादव-
सप्तरी, फागुन २५ गते ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा भव्य ‘वाटर फन पार्क’ निर्माण हुने भएको छ । पार्क निर्माण गर्न डिपीआर (विस्तृत परियोजना रिपोर्ट) समेत तयार भइसकेको छ । नेपाल र भारतका पर्यटकलाई लक्षित गर्दै ‘वाटर फन पार्क’ निर्माण गर्न लागिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ३ करोड ४९ लाख र गाउँपालिकाको एक करोड ४९ लाख गरी झण्डै पाँच करोड रुपैयाँको लगानीमा भव्य पार्क निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।
‘हामी ५ करोड रुपैयाँको लगानीको वाटर फन पार्क निर्माण गर्न लागेको हो’ उनले भने, ‘वडा नम्वर १ स्थित बेल्हीमा पार्क बनाउने हाम्रो तयारी छ, यद्यपी जग्गा अलि बढी नै आवश्यक पर्ने भएकाले त्यहाँ जग्गा कम भए अन्य ठाउँमा पनि जानसक्ने सम्भावना छ ।’
केही समझौताका कुराहरु बाँकी रहेकोले सो कार्य सकिएसँगै टेण्डर प्रक्रियामा जाने अध्यक्ष सिंहले बताए ।
‘यो सब प्रक्रिया मिलाउन डेढदेखि २ महिनासम्म लाग्नसक्छ’ उनले भने, ‘टेण्डर सकिएसँगै २ वर्षभित्र पार्क निर्माण गराइसक्ने हाम्रो योजना छ ।’
Sponsored