TodayPati

जनकपुरमा ग्याँसको कृतिम अभाव : पसल बन्द गरेर फोनमा बार्गेनिङ गर्छन् ग्याँस व्यापारी

  राजा झा
जनकपुरधाम, चैच २ गते ।

जनकपुरधाममा खाना पकाउने एलपी ग्याँसको कृत्रिम अभाव देखिएको छ। ग्याँसको आपूर्तिमा कमी नआए पनि अहिले जनकपुरमा ग्याँसको कृत्रिम अभाव भएपछि स्थानीय उपभोक्ताहरु मारमा परेका छन्।

विश्वभर कोरोना भाइरसको त्रास बढेपछि यसले चौतर्फी रुपमा असर पारिरहेको छ। भारतले समेत नेपालसँग जोडिएका विभिन्न नाकाहरु बन्द गर्न थालेपछि यही मौकालाई छोपेर कालोबाजारी गर्न जनकपुरधामका ग्याँस व्यवसायीहरुले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरेको स्थानीयले गुनासो गरेका छन्।

Sponsored

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ का मनोज राउतले व्यापारीले पसलमा ग्याँस हुँदा पनि पहिलाकै मूल्यमा दिन आनाकानी गरिरहेको बताए। उनले भने, ‘ग्याँस पसलहरु बन्द छन्, मोबाइलमा सम्पर्क गर्दा बढी मूल्यमा सिलिण्डर लैजान भनिरहेका छन्।’

ग्याँस व्यवसायी संघ धनुषाका अध्यक्ष अजय साहले जनकपुरधाममा कोरोना भाइरसको हल्ला फैलाएर अभाव सिर्जना गरिएको स्वीकार गरे।

‘बजारमा ग्याँसको आपूर्ति सहज नै रहेको छ’, उनले भने, ‘कोरोना भाइरसका कारण नाका बन्द हुन थालेपछि ग्याँस व्यवसायीहरु ग्याँस स्टक गर्न लागेका छन्। जसको परिणाम स्वरुप जनकपुरधाममा ग्याँसको अभाव भएको छ।’

Sponsored

यता नोबेल ग्याँस उद्योग नक्टाझिझका प्रबन्धक मनोज श्रेष्ठले ग्यासको आपूर्तिमा अहिलेसम्म कुनै प्रकारको कमी नआएको बताए। उनका अनुसार अहिले धनुषामा मागभन्दा बढी नै आपूर्ति भइरहेको छ।

धनुषाभर ८ ग्याँस कम्पनीले ग्यास आपूर्ति गर्दै आइरहेका छन्। धनुषामा मासिक औसत १ लाख २० हजारभन्दा बढी ग्याँस सिलिण्डरको खपत भइरहेको ग्याँस व्यवसायी संघ धनुषाका अध्यक्ष अजय साहले बताए।

उनका अनुसार जनकपुरधाममा मात्र ७० हजार सिलिण्डर ग्याँस खपत हुन्छ।

धनुषा जिल्लामा ग्याँसका दुई सय डिलर छन् भने जनकपुरधाममा मात्रै १ सय ५० भन्दा बढी डिलर छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *