सर्लाहीका एक किसानले च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी गर्दै, शहर धाउने बाध्यता अन्त्य
टुडेपाटी-
सर्लाही, फागुन २३ गते ।
सर्लाहीमा एकजना यस्तो किसान छन् जो च्याउको बीउ बेचेर मनग्य आम्दानी गरिरहेका छन् । वैदेशिक रोजगारीमा गएर फर्किएका सर्लाहीस्थित बाग्मती नगरपालिका– १० शंकरपुराका किसान ध्रुवप्रसाद चौलागाईंले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरिरहेका हुन् ।
उनी पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किएका हुन् । अहिले च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर आफूले मासिक एक लाख आम्दानी गर्दै आएको उनले बताए ।
तीन वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आएका उनले गत वर्षदेखि बीउ उत्पादन सुरु गरेका हुन् । उनले दैनिक दुई सय ५० ग्रामको एक हजार प्याकेट बीउ उत्पादन गरिरहेको बताए । ध्रुवका अनुसार यसअघि बीउ लिन हेटौँडा, काठमाडौं जस्ता ठूला शहरमा धाउनुपर्ने बाध्यता थियो । अहिले त्यो समस्या समाधान भएको थियो ।
शंकरपुरमै च्याउको बीउ उत्पादन हुन थालेपछि यस क्षेत्रका व्यावसायिक च्याउखेती गर्ने किसानलाई सजिलो भएको छ ।
उनले करीब ५० लाखमा च्याउको बीउ उत्पादन गर्ने उपकरण खरीद गरेका हुन् । स्थानीय बजारमा च्याउको उच्च माग रहेको जानकारी दिँदै ध्रुवले च्याउ र बीउ बिक्रीका लागि बजारको समस्या नभएको बताए ।
Sponsored
प्रतिप्याकेट ४० रुपैयाँमा स्थानीयका साथै सिन्धुली, रौतहट, महोत्तरीका किसान र कृषि ज्ञान केन्द्र सर्लाहीलगायतका स्थानमा बिक्री गरिरहेको उनले जनाए । च्याउको बिउ उत्पादन गर्ने काममा ध्रुवले तीन जनालाई रोजगारी दिएका छन् । यही व्यवसायको कमाइबाट आफूले चार कट्ठा जग्गा किनेको पनि उनले बताए ।
विगत ३ वर्षदेखि व्यावसायिक च्याउखेती सुरु गरेका ध्रुवले ध्रुव कृषि फार्म दर्ता गरी व्यावसायिकरुपमा च्याउ खेती गरिरहेका छन् ।