विपक्षीसँगै सत्तारुढ सांसदले मागे मुख्यमन्त्री लालबाबु राउतको राजीनामा, देलान त ?
टुडेपाटी
जनकपुरधाम, चैत १ गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन विपक्षी दलका साथै उनकै सरकारमा सहभागी दलका सांसदले माग गरेका छन् । शनिवार बसेको प्रदेशसभा बैठकमा सत्तारुढ राजपा र नेकपाका सांसदहरुले मुख्यमन्त्री राउतलाई राजीनामा दिन माग गरेका हुन् ।
राजपाका सांसद मुख्यमन्त्री निरीह भएको भन्दै राजीनामा दिन माग गरे। “मुख्यमन्त्रीज्यू पटक–पटक कर्मचारीमाथि दोष लगाएर उम्किन खोज्नु हुन्छ,” प्रदेश सांसद सुमनले भने, “मुख्यमन्त्रीज्यू सक्नु हुन्न भने राजीनामा दिएर मार्गप्रशस्त गर्नुहोस्। तर, कर्मचारीलाई दोष दिएर निरीह नबन्नुस्।”
मुख्यमन्त्री राउत कर्मचारीले नटेरेर संघीयता नै धरापमा पार्न खोजेको बहाना बनाएर आमनागरिकको आँखामा छारो हान्ने काममात्र गरेको सुमनले बताए। प्रदेशसभा बैठकमा भएका निर्णयहरू कार्यान्वयन नभएपछि बैठक नै निरर्थक भएको छ। गत आर्थिक वर्षको बक्यौता भुक्तानी नगरेर धर्ना बस्ने चेतावनी दिनु मुख्यमन्त्रीको निरीहता मात्र रहेको सुमनले बताए। राजपा सांसद सुमनले प्रतिपक्षी दललेसमेत आफ्नो भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए। योजना र पैसाको लोभमा प्रतिपक्षी दल सरकारको गलत कामको विरोध गर्न नसकेको उनले बताए।
यसैगरी, नेकपाका प्रदेशसभा सांसद किशोरी साह कमलले पनि प्रदेशको जनताले सरकारको अनुभूति गर्न नसकेकाले मुख्यमन्त्री राउतले पदबाट राजीनामा दिनुपर्ने बताए। कर्मचारीमाथि सबै दोष थुपारेर झुटोमात्र बोल्ने मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने प्रदेश सांसद कमलले बताए । पछि सरकारको बचाउ गर्दै राजपा सचेतक परमेश्वर साहले मुख्यमन्त्री राउतले राजीनामा नदिने बताएका थिए ।