TodayPati

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै, नेकपाको दुवैपक्षबीच मुठभेडको संकेत

टुडेपाटी-
काठमाडौं, फागुन २३ गते ।

पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ । गएको फागुन ११ गते सर्वोच्च अदालतले १३ दिनभित्र संसद् बैठक राख्न दिइएको आदेशअनुसार आज अपराह्न ४ बजे सातौं अधिवेशन सुरु गर्न लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गरेकी थिइन् । तर यो कदम असंवैधानिक भनी दर्ता गरिएका दर्जनभन्दा बढी रिटको सुनुवाइ गर्दै सर्वाेच्च अदालतले यही फागुन ११ गते संसद् पुनर्स्थापना गरेको थियो ।

Sponsored

बैठकको लागि संसद् सचिवालयले सम्भावित कार्यक्रमका सूची तयार पारेको छ ।
जसअनुसार बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

यस्तै राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ । सभामुखको अनुमतिमा सभाको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिनेछ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ ।

Sponsored

यसबीच वर्तमान तथा पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पनि पेस गर्ने कार्यक्रम छ । तर बैठक सुरु हुनुअघिसम्म सम्भावित कार्यक्रम थपघट हुन सक्ने संसद् सचिवालयले जनाएको छ ।

यता बैठकलाई लिएर नेकपामा दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् । बैठकमा कसरी प्रस्तुत हुने विषयमा प्रचण्ड–नेपाल र ओली समूहले आआफ्ना तयारीलाई तीव्र पारेका हुन् ।

सभामुख अग्नि सापकोटाले प्रचण्ड–नेपाल पक्षलाई दलको मान्यता दिने गरी अघि बढे प्रतिवाद गर्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिएका छन् । जसले गर्दा आजको संसद् बैठकमा मुठभेड हुने जोखिम देखिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *