TodayPati

बेपत्ता झा दम्पतीको अवस्था अझै अज्ञात, ५० भन्दा बढी पोखरीमा जाल फालेर सर्च, भेटिएन ‘क्लु’

टुडेपाटी-
जनकपुरधाम, फागुन २२ गते ।

महोत्तरीको पीपरा गाउँपालिकाबाट १२ दिनअघि घरबाट बेपत्ता झा दम्पतीको अवस्था अझै अज्ञात छ । तीव्र रुपमा खोजविन र अनुसन्धान चलाएपनि प्रहरीले बेपत्ता झा दम्पतीको विषयमा अहिलेसम्म कुनै पनि ‘क्लु’ फेला पार्न सकेको छैन ।

गएको फागुन ११ गते राति पिपरा गाउँपालिका–५, सहोर्वा गाउँका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी गीतादेवी झा ओछ्यानसहित बेपत्ता भएका थिए ।

Sponsored

खोजविनको क्रममा फागुन १४ गते एक पोखरीमा दम्पतीले प्रयोग गर्ने दुइटा झुल बरामद भएपछि मारेर पोखरीमै फालिएको हुन सक्ने आशंका गरिएको छ । हालसम्म सर्च अभियान अन्तर्गत महोत्तरी र धनुषाका ५० भन्दा बढी पोखरीमा जाल फालेर छान्ने, बोटिंग मार्फत खोजविन गर्ने कार्य भएको प्रदेश २ का प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले जानकारी दिए । उनका अनुसार झाडी तथा विभिन्न ठाउँमा गाडेको आशंकामा माटो खनेर खोज्ने कार्य समेत भएको छ ।

अहिलेसम्म घटना अनुसन्धानका लागि २५ जनाभन्दा बढीसँग सोधपुछ गरिसकिएको छ भने ४ जनालाई पक्राउ समेत गरिएको उनको भनाइ छ ।

‘घटनाको विभिन्न कोणबाट अनुसन्धन गरिरहेका छौं। अहिलेसम्म घटनामा उल्लेख्य कुनै क्लु भेटिसकेको छैन,’ डिआईजी सिंहले टुडेपाटीसंग भने ‘दम्पतीको अवस्था हालसम्म अज्ञात छ। जिउँदो वा मृत कुन अवस्थामा छन् भन्ने कुरातर्फ अनुसन्धान केन्द्रित भएको छ। अहिलेसम्म २५÷२६ जनासँग सोधपुछ गरिसकेका छौं। चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गररहेका छौं।’
उनका अनुसार बेपत्ता दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्द्र ठाकुरसहित ४ जनालाई पक्राउ गरिएको हो।

Sponsored

गीताको ओछ्याननजिकै र उनको घरदेखि झन्डै १५ मिटर परसम्म रगतका छिटा देखिएका थिए। दुवै रगतका नमुना परीक्षणका लागि काठमाडौं लागिएको छ। रिपोर्ट आउन बाँकी रहेको डीआइजी सिंहले बताए। रगतका छिटा र पोखरीमा भेटिएको दम्पतीले प्रयोग गर्ने झुलले घटना झनै रहस्यमय बनाएको छ ।
दम्पतीको हत्या नै भएको प्रहरीको अनुमान छ। झा मालपोतका पूर्व कर्मचारी हुन्। बेपत्ता हुनुअघि उनी जग्गासम्बन्धी विवादमा साक्षी बसेको थिए भने उनको जग्गा लिएका एक स्थानीयसँग विवाद भएको थियो ।

पक्राउ परेका चारै जनाको पोलिग्राफ टेस्ट गरिएको छ। जसमा पक्राउ परेका हरेन्द्र र रामबाबुले कतिपय कुरा झुट बोलेको पाइएको डीआईजी सिंहले बताए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *