विद्युत प्राधिकरण धनुषाका सुपरभाइजरसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
टुडेपाटी-
जनकपुरधाम, फागुन २१ गते ।
विशेष अदालत काठमाडौंमा नेपाल विद्युत प्राधिकरण धनुषा नोलाइटका सुपरभाइजरसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्राधिकरणको सखुवा वितरण केन्द्र अन्तर्गत ढल्केवर धनुषा नोलाइटका सुपरभाइजर जगतनारायण साहसहित चार जनाविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सुपरभाइजर साह, इलेक्ट्रिसियन यमकुमार महतो, प्राविधिक नवलकिशोर राउत र मनोहर कुमारविरूद्ध मुद्दा दायर भएको छ ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार उनीहरूले नयाँ मिटर जडान गर्नेक्रममा सेवाग्राहीसँग घुस माग गरेका थिए ।
घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार बर्दिबासबाट टोली खटिएको थियो। उनीहरूलाई टोलीले पाँच हजार घुससहित समातेको प्रवक्ता रिसालले जानकारी दिए ।
Sponsored
अनुसन्धानबाट पुष्टि भएपछि उनीहरूविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरूमाथि बिगो कायम हुने गरी सजायको मागदाबी गरेको छ ।