धनुषामा घरेलु मदिराबाट १२ जनाको मृत्युपछि उत्पादन गर्ने ७ जना पक्राउ
शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, चैत १ गते ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा रक्सी पिउँदा १२ जनाको मुत्यु भएपछि घरेलु मदिरा उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार स्थानीय रमानन्द साह, तारा पट्टीबालि भनिने छठियादेवी मण्डल, धुरण यादव, जगतकुमार यादव, शीतलदेवी यादव, महोतरी भंगहा नगरपालिका-३ का जगतनारायण मण्डल, धनुषा लक्ष्मिनियाँ गाउँपालिका-६ बगेवाका नवीन यादवलाई पक्राउ गरिएको हो ।
घटना अनुसन्धान र सोधपुछका लागि उनीहरूलाई पक्राउ गरिएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
महोत्तरीको भंगहामा उत्पादन गरिएको मदिरा नवीनले रमदैयामा ल्याएर छठियालाई बेच्न दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
Sponsored
घरेलु मदिरा पिउँदा बिरामी भएका थप तीन जनाको उपचारका क्रममा मृत्यु भएपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया बस्तीमा २ सतायता मदिरा मदिरा पिउँदा मृत्यु हुनेको संख्या १२ पुगेको हो ।
प्रहरीका अनुसार उपचारका क्रममा स्थानीय इन्द्रजीत महरा, शत्रुधन मण्डल र माउसराम यादवको शुक्रबार मृत्यु भएको हाे ।
यसअघि गत बुधबार र बिहीबार गरी घरेलु रक्सी पिउँदा स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विलास मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र धनुषाकै रूपैठा घर भई ससुराली घरमा बस्ने गरेका राजु महरासहित ५ जनाको मृत्यु भएको थियो ।
यस्तै दुई साताअघि रमदैया गाउँकै बस्तीमा घरेलु मदिरा पिउँदा निरश यादव, भुटन सदा, दशै महरा र विजय सदाको मृत्यु भएको थियाे ।