TodayPati

बाराको अमलेखगञ्ज ढुकुवाबासमा खानेपानीको श्रोत नहुँदा स्थानीयलाई सास्ती

टुडेपाटी-
बारा, फागुन २० गते ।

बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित ऐतिहासिक अमलेखगञ्ज ढुकुवाबासमा पानीको स्रोत नहुँदा स्थानीयले सधैं सास्ती भोग्नुपर्ने बाध्यता छ । वर्षायाममा फुट्ने स-साना पानीको मुहान पनि हिउँदमा सुक्ने हुँदा सुख्खायाममा उनीहरुको दुःख अझै बढ्ने गरेको छ ।

पानी ओसार्नकै लागि ३ नम्बर पुलस्थित खोलामा पुग्नुपर्ने उनीहरुको सधैंको बाध्यता बनेको छ । त्रिभुवन राजपथमा पर्ने ३ नम्बर पुल खाजा नास्ताका लागि चर्चित ठाउँ हो ।

Sponsored

सिरानमा बस्नेलाई पानी ल्याउन डेढ घण्टा समय लाग्छ । १ सय २३ घरधुरी बासिन्दालाई डोकोमा तल खोलाबाट पानी बोकेर उकालो चढ्नुपर्ने बाध्यता छ । स–साना बालबालिका पनि पानी ओसारिरहेको दृश्य त्यो क्षेत्रमा देख्न सकिन्छ ।

‘वस्तुका लागि घाँसपात राम्रोसँग पाइन्छ, तर पानी नहुँदा वस्तुभाउ पाल्न सकिएको छैन । मान्छेलाई खानसमेत पानीको जोहो गर्न कठिन भइरहेको समयमा वस्तुभाउलाई कसरी पानी खुवाउने ?’ स्थानीयको गुनासो छ ।

पानीको व्यवस्था हुने हो भने गाउँ ‘स्वर्ग भन्दा सुन्दर’ हुने उनीहरु बताउँछन् । ढुकुवासकी तारा आले मगरलाई गाईवस्तु पाल्ने रहर छ । खोलाबाट पानी बोकेर ल्याउनुपर्ने पीरले वस्तु पालेकी छैनन् । ‘पिउने पानीको जोहो गर्न त कठिन छ, वस्तुभाउलाई कहाँबाट पानी ल्याएर खुवाउनु ? ’ उनी भन्छिन्, ‘त्यसैले वस्तु नै पालेकी छैन ।’

Sponsored

स्थानीय हरिबहादुर लो र दीपक रुम्बाले केही बस्तुभाउ पालेका छन् । घरका केही सदस्य वस्तुको लागि पानी जोहो गर्नका लागि नै व्यस्त हुनुपर्छ । गाउँमा पानीको स्रोत हुँदा त्यो समय अन्य काममा लगाउन सकिने आशमा उनीहरु छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *