TodayPati

उखु किसानलाई लुट्न यी हुन् दलाल पाल्ने नेताहरु !

रोहित महतो-
जनकपुरधाम, माघ १९ गते ।

सर्लाहीको धनकौल गाउँपालिका–२ स्थित नेपाली काँग्रेसका जिल्ला उपसभापति सुरेन्द्र सिंहको घर अन्नपूर्ण चिनी मिलनजिकै छ। उनका भाइ वीरेन्द्र नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशसभा सांसद हुन्।

राजनीति सुरु गरेपछि पछिल्लो समय सिंहले ठूलो सम्पत्ति जोडेका छन्। रवि कन्स्ट्रक्सन र डिस्टिलरी उद्योगमा लगानी गरेका उपसभापति सिंहले घरनजिकै अन्नपूर्ण चिनी मिल खुल्नासाथ सञ्चालक राकेश अग्रवालसँग सम्बन्ध बढाए। 
सञ्चालक अग्रवालसँग सम्बन्धको फाइदा उठाउँदै सिंहले परिवारका सदस्य तथा आफूनिकटका नाममा वार्षिक करिब ५० हजार क्वीन्टल उखुको चलानी पुर्जीको अनुमति लिएको मिलका एक पूर्वकर्मचारीले बताए।

Sponsored

भुक्तानी नपाउँदा किसानले बाध्य भएर ३ देखि ४ सय रुपैँयाँ प्रति क्वीन्टल मिलमै लगेर उनलाई उखु बेच्थे। सुरेन्द्र यस क्षेत्रका ठूला ‘पावर र पैसावाला’ हुन्। उनको दबदबा यति विघ्न छ कि कोही विरोधमा बोल्दैनन्। ‘कतिपय अवस्थामा सुरेन्द्रलाई चाहेअनुसारकै चलान पुर्जी दिनुपर्छ। किसानको भुक्तानी रोक्नुपर्ने बाध्यता पनि हो,’ ती कर्मचारीले भने।

पहुँच नहुने वास्तविक किसानलाई चलान पुर्जी पाउनै गाह्रो हुन्छ। तर, माथिसम्म राजनीतिक पहुँच र गुण्डा पालेकाले सुरेन्द्रले सहजै चलान पाउने गरेको गोरैता नगरपालिका सिसौटियाका किसान राविर रायले बताए।

‘सुरुदेखि नै मिल मालिकलाई ५० रुपैँयाँ प्रति क्वीन्टल दिने गरी सुरेन्द्रले उखु किन्दै आएका छन्। गाउँ–गाउँमा कमिसन दिएर दलाल राखेका छन्,’ पूर्वकर्मचारी रवीन्द्र यादवले भने, ‘भुक्तानी रोकेर किसानलाई दलालमार्फत उखु बेच्न बाध्य बनाइएको छ। दलालले किसानले मजबुरीको मौका छोपेर सकेसम्म सस्तो भाउमा उखु किन्ने गर्छन्।’

Sponsored

पछि उखु बेच्ने दलालले सुरेन्द्रलाई छाडेर आफैं चिनी मिल मालिकसँग ‘डिल’ गरी बिचौलियाका रूपमा गाउँ–गाउँमा छिरेका उनको भनाइ छ। स्थानीय किसानका अनुसार सबैभन्दा धेरै भुक्तानी बाँकी रहेका धनकौल, गोरैता, रामनगर र बँसबरीया गाउँपालिकामा दर्जनौं दलाल छन्।

मिल कर्मचारीका अनुसार धनकौल गाउँपालिकाका अध्यक्ष रामअश्रेय साहका भाइ विलासी साहले समेत करिब एक करोडको चलान पुर्जी लिएका छन्। तीमध्ये केही आफ्नो र केही आफन्तको नाममा उनले पुर्जी बनाएका छन्।
विलासी चिनी मिलकै लेखा शाखाका कर्मचारी पनि हुन्। ‘उनको आफ्नो पनि केही जग्गा छ। मालिकसँग राम्रो ‘टर्म’ छ, ठुल्ठूला नेताहरूसँग उठबस छ,’ ती कर्मचारीले भने, ‘प्रत्येक वर्ष आफैं पनि र, गाउँमा दलालमार्फत् किसानसँग सस्तोमा एक करोडसम्मको उखु किनेर मिललाई बेच्छन्।’

अन्नपूर्ण चिनी मिलका पूर्वकर्मचारी यादवका अनुसार मिलको ३० प्रतिशतभन्दा बढी उखु बिचौलियामार्फत् सस्तो मूल्यमा मिलले किन्दै आएको छ।

सुरेन्द्रकै लागि उखु किन्ने काम गर्ने सिसौटियाका हरिश्याम रायले समेत अढाइ सयदेखि ४ सय प्रति क्वीन्टलका दरले वर्षको करिब २५ लाखभन्दा बढीको उखु किन्दै आएका छन्। मिलका कर्मचारीका अनुसार ठूला बिचौलियाले भुक्तानी पाइसके पनि यसपाली साना बिचौलीयाको भुक्तानी बाँकी छ।

त्यसैले, उनीलगायत केही बिचौलियाले किसानलाई समेत सँगै राखेर उखु किसान संघर्ष समितिमार्फत् आन्दोलन गर्दै आएका छन्। उनी संघर्ष समितिका सचिव हुन्। ‘यसपाली केही दलालले पैसा पाएका छैनन्। आन्दोलन गरेर उनीहरूले पैसा पाइहाल्छन्। तर, वास्तविक किसानले पाउँदैनन्,’ स्थानीय किसान रमानन्द यादवले भने। तर, मिलबाट समयमा पैसा नपाएपछि बिचौलियालई उखु बेचिएकाले त्यसले किसानलाई तत्काल राहत दिन्छ। यसलाई नकरात्मक रूपमा लिन नहुने बिचौलिया हरिश्याम रायले बताए। ‘मिलले पैसा नदिएर मात्र किसानले बिचौलियालाई उखु बेचेको हो। औषधोपचार गराउन र घर परिवार चलाउन तत्काल कमसेकम पैसा त पाइहालिन्छ। यसलाई गलत भन्न मिल्दैन,’ उनले भने।

पछिल्लोपटक राजपाका नेता राकेश मिश्रले उखुको बिचौलियाको काम गर्ने गरेको स्थानीयको आरोप छ। आफ्नै नाममा खासै चलान पुर्जी नलिने उनले समेत आफन्त र पार्टी कार्यकर्तालाई चलान पुर्जी दिलाउँदै आएको मिल स्रोतको दाबी छ। 
मिश्र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लडेका थिए। तर, उनी पराजित भए। राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुरनिकट रहेका मिश्रले समेत आफ्ना कार्यकर्तालाई बिचौलिया गर्न चलान पुर्जी उपलब्ध गराउने गरेको मिल स्रोतले बताएको छ।

स्थानीय किसानका अनुसार उनकानिकट राजकिशोर मण्डल, किशोरी राय, सिरिठ राय, सोगारथ राय र बेचन मिश्र त्यस क्षेत्रका ठूलो बिचौलीया हुन्।

यस्तै पूर्वसांसद तथा नेकपा नेता शिवपुजन रायले समेत आफ्ना स्थानीय नेता तथा कार्यकर्ताका हजारौं क्वीन्टल उखुको चलान पुर्जी लिएर उखु किनेको पूर्वकर्मचारी यादवले दाबी गरे।

‘यी नेताहरू नै दलाललाई चलान पुर्जी दिलाउँछन्, कर्मचारी भर्ना गर्ने बेला आफ्नै मान्छे राख्छन्,’ उनले भने। त्यस क्षेत्रका किसानका अनुसार डुमररियाका भागल राय, सिसौटियाका शिवचन्द्र राय पूर्वसांसद शिवपूजन रायनिकट बिचौलियाहरू हुन्। 
पूर्वसांसद शिवपूजन रायले बिचौलियासँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे। ‘चिनी मिलले नै किसानलाई मर्का पर्ने गरी सस्तो भाउमा उखु किनिरहेको छ,’ उनले भने। उनले किसानलाई समस्या पर्दा आफू मिलसम्म पुगेको दाबी गरे। उता, सुरेन्द्र सिंहसँग भने सम्पर्क हुन सकेन।

राजनीतिक शक्तिको आडमा बिचौलियाको बिगबिगीले सर्लाहीका वास्तविक किसानको दुर्दशा भएको छ। ‘हामीले कठयांग्रिएर १० दिनसम्म काठमाडौं बसेर आन्दोलन गर्‌यौं। आउने बेलामा गाडी दुर्घटनामा हात भाँचियो। ऋण काढेर औषधोपचार गराउँदै छु, तर यसपपालि पनि भुक्तानी पाएनाैं,’ सिसौटियाका रामानन्द यादवले भने।

अन्य चिनी मिलले कुन उपभोक्तालाई कति भुक्तानी दिएको तथ्याङ्‌क सार्वजनिक गर्दै आए पनि बिचौलियाले मात्र धेरै उखु बेचेको रहस्य खुल्ने डरले भुक्तानी तालिका सार्वजनिक नगरेको स्थानीयको भनाइ छ।

राजनीति आडमा चलानी पुर्जी हात पार्ने बिचौलियाले मिललाई बेचेको उखुको भुक्तानी समयमै हुने गरेको छ। तर, किसानको भुक्तानी गर्न मिल सञ्चालकले अनेक बहाना गर्दै समय लम्बयाउने गरेका छन्। यसले वास्तविक किसान ऋणमा डुबेर घरजग्गा बेच्ने स्थितमा पुगेका छन् भने बिचौलिया र उद्योगी धनाढ्य बन्दै गएका छन्।

रोहित सिंह

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । Facebook मा उहाँलाई भेट्न सक्नु हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *