८ लाख कमिसन लिएका अध्यक्ष राउतलाई पक्राउ र हरहिसाब नदिए कडा आन्दोलनको चेतावनी
टुडेपाटी-
जनकपुरधाम, फागुन १९ गते ।
कमिसन वापत लिएको ८ लाख रुपैयाँ झाडीमा फालेर फरार भएका धनुषाको बटेशवर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतको प्रहरीले यतिखेर तिब्र खोजी भइरहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगै जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलीले उनको खोजी गरिरहेको छ । तर हालसम्म समेत उनलाई पक्राउ गर्न नसकेपछि स्थानीय आक्रोशित भएका छन् ।
सत्ता र शक्तिको आडमा अध्यक्ष राउतलाई पक्राउ नगरी अख्तियारसँगै प्रहरी प्रशासनले समेत उन्मुक्ति दिएको भन्दै स्थानीयहरु आक्रोशित भएका हुन् । आक्रोशित युवाहरुले मंगलवारदेखि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरी धर्नामा बसेका छन् ।
अध्यक्ष राउत, प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखामा ताच्ला लगाइएको छ । यस्तै राउतको कार्यकक्ष बाहिर रहेको ‘नेम प्लेट’ मा स्थायनीले चोर शब्द लेखेर आक्रोश पोखेका छन् ।
Sponsored
उनको कार्यकक्ष अगाडीको ढोकामा ‘भ्रष्टाचारी गाउँपालिका अध्यक्षलाई कारवाही गर’, ‘८ लाख घुस लिने घुसखोरी अध्यक्ष मुर्दावाद’ र गाउँपालिकाको सम्पूण्र्ण विकास योजना सार्वजनिक गर जस्ता नारा लेखिएको पम्पलेट समेत टाँसिदिएका छन् ।
हरेक योजनामा कमिसन लिएका र अख्तियारले प्रमाण सहित उनको धन्धाको पर्दाफास गरिदिएकाले अध्यक्ष राउतलाई पक्राउ र गाउँपालिका अध्यक्ष राउतको तीन वर्षे कार्यकालको अवधिमा गरेको खर्च विवरण सार्वजनिक नगरिए कडा आन्दोलन गर्ने जसपाका युवा नेता अजय राउतले चेतावनी दिए ।
उनलाई पक्राउ र हरहिसाब पारदर्शी गर्ने शर्तमा मात्र ताल्चा खोल्ने उनको भनाई छ । त्यसै विषयमा बटेश्वरका युवाहरुबीच आज विहान छलफल समेत भएको उनले जनाए ।