TodayPati

जनता आवास कार्यक्रम अन्तर्गत धनुषाका १२४ दलित परिवारले पाए पक्की घर, खुसीले दङ्ग

टुडेपाटी-
जनकपुरधाम, फागुन १७ गते ।

धनुषाका १ सय २४ दलित घरविहीन परिवारलाई कोठाको पक्की घर हस्तान्तरण गरिएको छ । जनता आवास कार्यक्रम अन्तर्गत सोमबार नेपाल सरकारको आर्थिक लगानीमा प्रदेश २ सरकारले निर्माण गरेका दुई कोठे पक्की घर हस्तान्तरण गरिएको हो ।

घर हस्तान्तरण प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले गरेका छन् ।

Sponsored

वर्षौँदेखि वर्षा तथा हावा हुरीमा निक्कै समस्यामा परेका जनकपुरधाम उपमहानगरपालिका-२३ लादोवेला, विन्धी तथा बसहीयाका मुसहर जातिलाई घर हस्तान्तरण गरिएको छ । घर पाएर निक्कै खुसी भएका लादो बेलाका मुसहर समुदायले एक अर्कालाई अबिर दलेर खुशीयाली साटासाट गरेका छन् ।

लादोका ४३ मुसहर, विन्धिका ३६ परिवार तथा बसहीयाका ४५ परिवारलाई दुई कोठाको पक्की घर हस्तान्तरण गरिएको छ । सङ्घीय सरकारको कार्ययोजनामा परिमार्जन गरेर प्रदेश २ सरकारले छानामा भएको बाँसको ठाउँमा फलामको पाइप, एक नम्बर इँटा तथा भुईँमा माटोको साटो इँटाको सोलिङ्ग गर्ने काम गरेको प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

प्रदेश २ का डोम, हलखोर, मुसहर तथा मेस्तरका ४ हजार घर निर्माण गरेर हस्तान्तरण गरेको उनले बताए । यस कार्यक्रममा तीव्रता दिनका लागि समयमा बजेट निकासाका लागि पनि मन्त्री सोनलले सरकारसँग माग गरे ।

Sponsored

आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ गरेर दुई आर्थिक वर्षमा धनुषा जिल्लामा ७ सय २४ जनासँग सम्झौता भएकोमा अहिलेसम्म जिल्लामा २ सय ८१ वटा घरको निर्माण भएको र ४ सयको निर्माण जारी रहेको जनता आवास कार्यक्रम धनुषाका संयोजक एवं प्रदेश सभा सदस्य परमेश्वर साहले जानकारी दिए । उनले सबै घरको निर्माण असार मसान्त भित्रमा सम्पन्न हुने बताए ।

धनुषाको बसहीयामा निर्माणको क्रममा ३४ वटा घरमा अदालतमा मुद्दा परेकाले रोकिएको जानकारी जनता आवास कार्यक्रमका डिभिजनल इन्जिनियर विनोद यादवले दिएको बताए ।

जनता आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर पाएकोमा दलितहरू खुसीले दङ्ग परेका छन् । आफूहरूको वर्षौँदेखिको पक्की घरमा बस्ने चाहना पूरा भएकोमा अत्यन्तै खुसी महसुस भइरहेको लादोवेलाका स्थानीयबासिन्दा छट्टु सदाको भनाइ छ ।

घर निर्माणमा एक नम्बर इँटा, सिमेन्ट, गुणस्तरीय बालुवा, गिट्टी प्रयोग गर्नुका साथै छानामा फलामको पाइप राख्ने काम भएकाले घर टिकाउ रहेको बताउँदै मुसहर जातिका महिला संगिता देवी सदाले अब सुखसँग पक्की घरमा बस्ने रहर पूरा भएको बताइन् । उनले अगाडि भनिन् ‘अब छोरा-छोरीको शिक्षामा विशेष ध्यान दिनुपर्छ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *