रकम लिएर लाइसेन्समा पास गरेको मुद्दामा यातायात प्रमुख यादवसहित ८ जनाले पाए सफाइ
टुडेपाटी-
काठमाडौं, फागुन १६ गते ।
विशेष अदालतले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित आठ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले १० जना विरुद्ध दायर गरेको मुद्दामा आइतबार विशेष अदालतले सुनुवाइ गर्दै दुई जनालाई मात्रै आंशिक दोषी ठहर गरेको हो ।
सवारीचालक अनुमपति पत्रको परिक्षामा परिणाम हेरफेर गरेको भन्दै अख्तियारले १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
चालक लाइसेन्सका लागि लिइने ट्रायलमा फेल भएका व्यक्तिलाई पैसा लिएर पास गराएको र पास भएका व्यक्ति भने फेल भएको अख्तियारको मुद्दामा उल्लेख थियो ।
तर आइतबार न्यायाधीश बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले आठ जनालाई निर्दोष ठहर गरेको हो ।
मेकानिकल इन्जिनियर श्याम केसीलाई छ महिना कैद र १० हजार रुपैयाँ जरिवाना र कम्प्युटर अपरेटर लक्ष्मन तिवारीलाई तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।
Sponsored
तर तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादव, अधिकृत ईश्वरराज रेग्मी, अधिकृत भुपराज ढकाल, अधिकृत शिवप्रसाद सुवेदी, अधिकृत शालिग्राम पौडेल, अधिकृत बिष्णुप्रसाद सुवेदी, नासु लेखनाथ भुसाल र कम्प्युटर अपरेटर बिज्ञान खड्गीलाई अदालतले सफाइ दिएको छ ।