प्रदेश २ : सडक ढलानमा १ नम्बर इँटा लगाउनुपर्नेमा ३ नम्बर लगाएपछि स्थानीयको विरोध, काम बन्द
सौरभ यादव-
सप्तरी, फागुन १६ गते ।
सर्लाहीको धनकौल गाउँपालिकाले वडा नम्बर १, सेखौना टोलमा ९ लाख रुपैयाँको लागतमा सडक ढलान कार्य थालेकोमा गुणस्तरहीन काम भएपछि त्यहाँका सर्वसाधारणले विरोध जनाएका छन् । मनपरी ढंगले निर्माण कार्य गरिरहेको भन्दै सर्वसाधारणले विरोध जनाएपछि निर्माण कार्यको जिम्मा पाएको उपभोक्ता समितिले निर्माण कार्य रोकेको छ ।
उक्त सडक ढलान निर्माणस्थलमा कुनै पनि निकायको रेखदेख नपुग्दा निर्माण कार्यको जिम्मा पाएको उपभोक्ता समितिले मनपरी ढंगले निर्माण कार्य गरिरहेको आरोप सर्वसाधारणले लगाएका छन् ।
आयोजनाले ९ लाखको लागतमा बन्दै गरेको ९०/९५ मिटर लामो, १२ फिट चौडाइ र ८ इन्च उचाइ भएको सडक ढलानमा १ नम्बर इँटा लगाउनुपर्नेमा ३ नम्बर इँटा लगाइएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
गाउँपालिकाका इन्जिनियर नितेश साहले समेत इस्टिमेटअनुसार १ नम्बर इँटा लगाउनुपर्ने ठाँउमा ३ नम्बर इँटा प्रयोग गरेका कारणले सोको मूल्यांकन नगर्ने चेतावनी दिएको स्थानीयले बताए ।
इन्जिनियरले बनाएको इस्टिमेटअनुसार कार्य नभएको र इस्टिमेटअनुसार कार्य गर्न नचाहेको हुँदा आफूहरूले विरोध गरेको स्थानीय फेकु रायले बताए । उपभोक्ता समितिका सदस्य प्रेम यादवले निर्माण कार्य सुरु गर्दा १ नम्बर इँटा पाउन कठिन भएकाले ३ नम्बर इँटा प्रयोग गरिएको बताए ।
Sponsored
स्थानीय रामपरीक्षण महतोले इस्टिमेटअनुसार काम नभए काम गर्न नदिने बताए । कमसल सामग्रीको प्रयोग गरी निमार्णकार्य गर्न कुनै पनि हालतमा नदिइने उनको भनाइ छ ।
उता गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले कमसल सामग्री प्रयोग गरेर बाटो निर्माण भइरहेको नागरीक गुनासो आएपछि तत्काल काम बन्द गर्न निर्देशन दिइएको बताए । उनले भने, ‘अबको निर्माणको काम भनेको एक पटक गरे २० औँ वर्षसम्म टिक्ने बनाउनुपर्छ ।’
संरचना निर्माणमा कमसल सामग्रीको प्रयोग गर्ने र काम गर्दा ठग्ने जुनसुकै उपभोक्ता समितिलाई कारबाहीको दायरामा उभ्याउन पछि नपर्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरे ।