TodayPati

ढल्केबरमा सोलारबाट १० मेगावाट बिजुली उत्पादन सुरु, पावर ग्रिडमा जोडियो

टुडेपाटी-
जनकपुरधाम, फागुन १४ गते ।

नेपालमै पहिलो पटक धनुषाका ढल्केबरमा सौर्य ऊर्जाबाट १० मेगावाट बिजुली उत्पादन थालिएको छ ।

प्राइम कमर्सियल बैंकको लगानी र कुशल प्रोजेक्ट्सको डिजाइन, आपूर्ति र निर्माणमा धनुषाको ढल्केवरमा स्थापित इको डेभलपमेन्ट कम्पनीले यसै सातादेखि उत्पादन थालेको हो ।

Sponsored

सौर्य ऊर्जाबाट उत्पादित सो १० मेगावाट विद्युत धनुषाको ढल्केवरस्थित पावर ग्रिडमा जोडिएको छ ।

सौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छ । विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।

उनका अनुसार १० मेगावाट बिजुली ग्रिडमा लगातार गइरहेको छ । आयोजनाले सुक्खा मौसममा ऊर्जा अभाव टार्ने कुशल प्रोजेक्ट्सका प्रबन्ध निर्देशक सन्दीप अग्रवालको दाबी छ ।

Sponsored

कम्पनीले मासिक १९ लाख युनिटभन्दा बढी बिजुली उत्पादन गरेर आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको पनि उनले बताए । निर्माण थालिएको ६ महिनामै सौर्य ऊर्जा परियोजनाको काम सकिएको छ । प्रदेश २ मा जलविद्युत् परियोजनाको सम्भावना छैन ।

ढल्केबरमा नेपालकै ठूलो क्षमताको विद्युत् ग्रिड निर्माण भएपछि त्यस वरिपरि अहिले सौर्य ऊर्जा उत्पादनका लागि प्लान्ट लगाउने क्रम बढेको छ ।

परियोजना क्षेत्रको मौसम अवस्थाले वार्षिक विद्युत् उत्पादन क्षमता ५ दशमलव २ युनिट प्रतिवर्गमिटर, औसत वार्षिक तापक्रम २५ दशमलव ५२ डिग्री सेल्सियस र औसत वायु १ सय १० किलोमिटर प्रतिघण्टा रहँदा साइटमा औसत वार्षिक विद्युत् १ सय ९४ लाख युनिट उत्पादन हुने उनले बताए ।

परियोजनामा प्राविधिक दक्षता १९ दशमलव ३ प्रतिशत छ । तातेडका अनुसार दक्षिणतर्फ १८ डिग्रीमा राखिएका प्रत्येक सौर्य प्यानलले २ दशमलव २२ वर्गमिटर क्षेत्रफल ओगटेको र त्यहाँ ६३ हजार ४ सय ३१ वर्गमिटर क्षेत्रमा कुल २८ हजार ५ सय ४ वटा मोड्युल राखिएको छ ।

सौर्य ऊर्जा उत्पादनका लागि १ हजार ४५ किलोवाट क्षमताको एक र ४ हजार ५ सय किलोवाट क्षमताका दुई गरी जम्मा तीन वटा एबीबी केन्द्रीय इन्भर्टर जडान गरिएको उनले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *