बर्दिवास जनता माविका शिक्षक विद्यालयमै कुटिए
टुडेपाटी-
महोत्तरी, फागुन १३ गते ।
महोत्तरीमा एक पूर्व प्रधानाध्यापक एवम् हालका शिक्षक नेत्र बहादुर रम्तलेमाथि विद्यालयमै आक्रमण भएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका–३ मा रहेको जनता माध्यमिक विद्यालय गौरीडाँडाका पूर्व प्रधानाध्यापक एवम् हालका शिक्षक नेत्र बहादुर रम्तलेमाथि विद्यालयमै आक्रमण भएको हो ।
विद्यालय परिसरमा स्थानीय मनिष अर्यालले शिक्षण क्रियाकलापमा खटिएका शिक्षक रम्तेललाई दुर्व्यवहार गर्दै उनीमाथि कुटपिट गरेका छन् ।
दलितको छोरो हेडमास्टर बनेर जमाएको भन्दै आफूमाथि उनले ढुङ्गा प्रहार गरेको पीडित शिक्षक रम्तेलले बताए । ‘तँ दलितले हेडमास्टर भएर जमाउने ? जातीय दुर्व्यवहार गरेपछि पीडित शिक्षकले भने, ‘किन यस्तो भनेको भनी प्रश्न गरेपछि उनले विद्यालयमै आक्रमण गर्यो ।’
अराजक गतिविधिमा सक्रिय रहेका आरोपी अर्यालले यसअघि होटल व्यवसायीमाथि आक्रमण गरेको बर्दिबास–३ का वडा अध्यक्ष राजन ढुङ्गानाले जानकारी दिए ।
स्थानीयले विद्यालयबाटै अर्याललाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।
Sponsored
यता, शिक्षक कुट्ने आरोपी अर्याललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबास प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । ‘आरोपीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरेका छौँ,’ डिएसपी थापाले भने, ‘पीडितको उजुरीका आधारमा कारबाही हुन्छ ।’