पर्सामा मालपोत कर्मचारीको मिलोमतोमा करोडौंको ७ कठ्ठा जग्गा अर्कैको नाममा पास
राधेश्याम पटेल-
वीरगञ्ज, फागुन १३ गते ।
मालपोत कार्यालय, पर्साले पोखरिया नगरपालिकामा रहेको करोडौं मूल्य पर्ने जग्गा अर्कैको नाममा नामसारी गरेको भेटिएको छ ।
बब्ली सिंह र भरत सिंहको नाममा रहेको पोखरिया–४ बसपार्क छेवैको कित्ता नं. २८४, २८५ को ७ कठ्ठा जग्गा अनितादेवी घर्तीको नाममा २०७७/१०/२० गते पास गरेको भेटिएको हो ।
उक्त जग्गा कृषि कार्यालयको पर्खालदेखि पश्चिमपट्टी मुख्य बजारमा रहेको जग्गा केही भूमाफिया, मालपोत कर्मचारी, लेखनदासले मिलेमतो घर्तीको नाममा पास गरेको बताइएको छ ।
बब्ली सिंह निरक्षर रहेकोले उनलाई सही छाप गराइ जग्गा घर्तीको नाममा नामसारी गरेको देखिन्छ । जग्गा बब्ली र भरत सिंह दाजुभाइको संयुक्त नाममा रहेको थियो ।
अंशबण्डाको लागि निवेदन दर्ता गरेपछि उक्त घटना बाहिरिएको हो । भरतले दाइ बब्लीलाई अंशबण्डाको साटो उनको भागमा पर्ने साढे तीन कठ्ठा जग्गा र आफ्नो भागमा रहेको उत्तिकै जग्गा बुहारी अनितादेवी घर्तीको नाममा राजीनामा र बकसपत्र गरेका थिए ।
Sponsored
अंशबण्डा गर्न पुगेका दाजुभाइलाई झुक्याई लेखनदास जादोलाल साह र अधिवक्ता अनिरुद्ध सिंहले मालपोत अधिकृत चन्द्रबहादुर कटुवालसँग मिलोमतो गरी जग्गा पास गरेको देखिन्छ ।
मालपोत कार्यालयका अधिकृतलाई अंशबण्डा भएको बताएको तर कागजमा उक्त जग्गा राजीनामा पास गरेको देखिन्छ । घटना सार्वजनिक भएपछि पीडित बब्ली सिंहले तत्काल मालपोत कार्यालयबाट जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको र त्यही दिन जिल्ला प्रशासन कार्यालयले उक्त जग्गा यथास्थानमा राख्न पत्राचार गरेको देखिन्छ ।
जिल्ला प्रशासन कार्यालयको पत्रको आधारमा कटुवाललगायत अन्य अधिकृतहरूले जग्गा तपाईंको नाममा जान्छ भनेर घर पठाएको तर पछि पुर्जासमेत बनाएको अवस्था छ । बब्लीको नागरिकता तथा पहिलेको पुर्जा आफूसँगै रहेको र पुर्जामा अहिलेसम्म रातो चिह्न लगाएको छैन, तर सो जग्गा कसरी पास भयो भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयले अनुसन्धान शुरू गरेको छ ।
बब्लीले दिएको निवेदनको आधारमा मालपोत कार्यालय पर्सामा पत्राचार गर्दै जग्गा पास गर्ने, गराउने लेखनदास, सहीछाप गर्ने अधिकृत तथा अन्य व्यक्तिहरूको नाम खुलाई र तत्काल उक्त जग्गा अरूको नाममा नामसारी गर्नुअघि वास्तविक जग्गाधनी बब्लीको रायविना पास नगर्न पत्राचार गरेको देखिन्छ ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जिल्ला मालपोत कार्यालयको कर्तुतको कारण केही अधिकृतहरू अहिले कारागारमा रहेको र यस्तै घटना दोहोरिएको कारण पुनः दोषी अधिकृतहरूले पनि कारबाही भोग्नुपर्ने बताए ।
जिप्रकाले सोही दिन पत्राचार गरे पनि पत्रको अवज्ञा गर्दै मालपोतका केही कर्मचारीहरूले बब्लीलाई झुक्याई अंशबन्डाको साटो राजीनामा पास गराएको घटनालाई आफूले तदारुकताका साथ अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रतिक्रिया दिए ।