महोत्तरीमा घरबाटै बेपत्ता झा दम्पतिको अवस्था अझै अज्ञात
टुडेपाटी-
जनकपुरधाम, फागुन ११ गते ।
महोत्तरीको पिपरा गाउँपालिकाबाट बेपत्ता भएका झा दम्पत्तिको अझै पत्ता लागेको छैन । सोमवार रातिदेखि नै बेपत्ता भएका पिपरा गाउँपालिका –५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गितादेवी झोको अवस्था अझै अज्ञात रहेको छ ।
प्रहरीले उनीहरुको खोजीकार्य तिव्र रुपमा गरिरहेको बताएको छ । दुईजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । सोधपुछका लागि नियन्त्रणमा लिइएका दुबैजनाको परिचय खुलाइएको भने छैन ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख धीरज प्रताप सिंहले अनुसन्धानको क्रममा ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । घरबाटै बेपत्ता दम्पतिको तिव्र रुपमा खोजि भइरहेको उनको भनाइ छ ।
अनुसन्धानको क्रममा घटनास्थलको प्रकृति हेर्दा मध्यरातमा पर्खाल नाघेर घरभित्र प्रवेश गरेका अपहरणकारीले झा दम्पत्तिलाई कुटपिट गरी घिसार्दै लगेको देखिएको प्रहरीले बताएको छ । उनीहरु सुतेको कोठा वरिपरी रगतको छिटाहरु पनि देखिएको कारण दम्पत्तिको हत्या समेत भइसकेको हो की भन्ने प्रहरीको आशंका छ । घरको तल्लो तल्लामा सुतेकी झाकी कान्छी बुहारी उषा झा र नातिनातिनीहरु भने सकुशल रहेका छन् ।
झा दम्पति बेपत्ता भएको मंगलबार बिहान थाहापाएपछि बाुहारी उषाले प्रहरीलाई खबर गरेकी थिइन् । प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर (डगटोली) मंगलबार बिहानै पुगेर घटनास्थलको अनुसन्धान गरहेको थियो ।
Sponsored
झा मालपोतका अवकाश प्राप्त कर्मचारी हुन् । सोमबार राति ११ बजे खाना खाएर बेग्ला बेग्लै कोठामा सुतेकी झा दम्पति बेपत्ता भएको मंगलबार बिहान मात्र जानकारी भएको थियो ।
झा एक विवादित जग्गा मुद्दामा अदालतमा साक्षी बसेका छन् । मुद्दाका विपक्षीसंग उनको केहिदिन अघि विवाद भएको थियो ।