प्रदेश २ का प्रमुख अहिराज आज पदभार ग्रहण गर्न जनकपुर आउँदै, मुख्यमन्त्रीले स्वागत नगर्ने
टुडेपाटी-
जनकपुरधाम, फागुन ९ गते ।
प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज) आज जनकपुर आउँदैछन् ।
पदभार ग्रहण गर्न आज उनी जनकपुर आउन लागेका हुन् ।
आज बेलुकी चार बजे उनी कार्यालयमा आइपुग्ने बताइएको छ ।
तर प्रदेश सरकारले भने उनको नियुक्तीको विरोध गरिरहेको छ ।
Sponsored
प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले स्वागत गर्ने परम्परा रहेपनि आज मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्न नपुग्ने बताइएको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश प्रमुख नियुक्त गर्ने अधिकार संघीय सरकारको रहे पनि संघीयताविरोधी छवि बनाएका झालाई पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व निम्त्यिाउने षडयन्त्र गरेको यादवले बताए।
राष्ट्रपति भण्डारीले दुई दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट प्रदेश प्रमुखलाई बर्खास्त गरेर झालाई नियुक्त गरेकी छिन्।
संघीयतालाई कमजोर गर्ने उद्देश्यका साथ झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरएको मन्त्री यादवले बताए।
‘कामचलाउ हैसियतमा पुगिसकेको संघीय सरकारले विनाकारण तिलक परियारलाई हटाउने निर्णयप्रति नै मेरो पहिलो आपत्ति छ,’ मन्त्री यादवले भने,‘सामाजिक सञ्जालमा झाबाट व्यक्त धारणाले उनी संघीयताविरोधी देखिन्छन्। संघीयता कमजोर गर्ने षडयन्त्रअनुसार उहाँलाई पठाइएको हो कि आशंका भएको छ।’
प्रदेश प्रमुख झाको कार्यशैलीबाट मात्र प्रदेश सरकार सहयोग वा असहयोगको निर्णयमा पुग्ने उनले बताए।
‘तिलकजीले सरकारलाई सँधै सहयोग गर्नु भयो, संघीयताको मर्मअनुसार काम गर्ने उहाँको सिद्धान्त देखियो,’ मन्त्री यादवले भने,‘नयाँ प्रदेश प्रमुखले कसरी काम गर्नु हुन्छ त्यसअनुसार सहयोग वा असहयोगको कुरा हुन्छ।’