प्रदेश प्रमुखको नियुक्ति र नवनियुक्ति प्रति प्रदेश सरकारको आपत्ति, आन्दोलनमा उत्रिने चेतावनी
टुडेपाटी-
जनकपुरधाम, फागुन ८ गते ।
प्रदेश २ सरकारले प्रदेश प्रमुख तिलक परियारको बर्खास्ती र नयाँ नियुक्ति प्रति आपत्ती जनाएको छ ।
प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रमुख बर्खास्तीको निर्णयलाई प्रतिगमन र निरंकुश भनेका छन् ।
‘प्रदेश प्रमुख बर्खास्तीको निर्णय प्रतिगमन हो । निरंकुशताको प्रमाण हो । यो कदमको हामी भर्त्सना गर्छौं,’ उनले भने ।
विभेदरहित प्रदेश बनाउने आफूहरूको योजनामा संघीय सरकार बाधक बनेको आरोप पनि उनले लगाए ।
‘वर्षौंदेखि पिछडिएको समुदायलाई हरेक क्षेत्रमा सहभागी गराउँदै अघि बढेका छौँ’, उनले भने, ‘तर, त्यही समुदायबाट आएका प्रमुखलाई बिनकारण हटाएर समग्र प्रदेशवासीलाई मर्माहत बनाइएको छ, यो हामीलाई कदापि स्वीकार्य छैन ।’
Sponsored
उनले अन्यथा प्रधानमन्त्री केपी ओलीविरुद्ध आन्दोलनमा जाने चेतावनी समेत दिए ।
‘उहाँलाई यथावत राख्नुपर्छ, त्यसका लागि हामी पहिलो चरणमा संघीय सरकारसँग समन्वय गर्नेछौँ र नमाने प्रधानमन्त्रीविरुद्ध प्रदेश सरकारले आन्दोलन थाल्नेछ ।’
शुक्रबार मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएर राजेश झालाई नियुक्त गरेकी थिइन् । परियार अघि रत्नेश्वरलाल कायस्थ प्रदेश प्रमुख थिए ।
मुलुकमा संघीयता आएपछि हालसम्म प्रदेश २ मा तेस्रो प्रदेश प्रमुखको रुपमा झा नियुक्त भएका छन् ।