TodayPati

प्रदेश २ : कोभिड-१९ नियन्त्रणको नाममा लाखौं घटोला, कुन सामानमा कति झ्वाम् ?

टुडेपाटी-
वीरगञ्ज, फागुन ८ गते ।

पर्साको पोखरिया नगरपालिकाले गत आर्थिक वर्षको बजेटको दुरुपयोग गरेको पाइएको छ ।

गत आव २०७६/०७७ को बजेटबाट कोरोना महामारी नियन्त्रणको नाउमा व्यापक अनियमितता गरी स्वास्थ्य सामाग्री तथा औषधी खरिद गरेको प्रमाण नै भेटिएको हो ।

Sponsored

नगरपालिकाको स्वास्थ्य शाखाले खरिद गरेको करिब एक करोड मूल्य बराबरको स्वास्थ्य सामाग्री तथा औषधीमा व्यापक अनियमितता भएको पोखरिया नगरपाकिलाका जनप्रतिनिधिहरुले गुनासो गरे ।

बजारमा पाउने दामभन्दा दोब्बर र तेब्बर मुल्यमा उक्त सामान तथा औषधी खरिद गरिएको प्रमाण सार्वजनिक भएपछि अहिले पोखरिया नगरपालिकाको गत आवको हिसाब कितावबारे अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानबिन पनि शुरु गरेको एक जनप्रतिनिधिले बतायो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी र स्वास्थ्य शाखा संयोजक कौश्लेन्द्र मिश्रको मिलोमतोमा त्यसो गरिएको उनको भनाइ छ ।

Sponsored

‘बजार भाउभन्दा दोब्बर तेब्बर मूल्य बढाएर समान खरिद गरिएको छ,’ उनले भने, ‘एक करोडको सामान तथा औषधीमा कम्तिमा २० लाख रुपैयाँको कमिसनको चलखेल भएको छ, यसको छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्छ ।’

वीरगञ्जका व्यवसायी दिपक अग्रवालको विभिन्न फर्म जस्तै सिटी फर्मा वीरगंज (भ्याट नं ३०१९१८९५८) बाट ०७७ असार १७ तगे,सिटि सर्जिकल हाउस(पान नं ६०८८९६०)बाट ०७६ असार २५ गते र काठमाडौंको सप्लार्यस, क्यापिटल सर्जिकल प्रालि.(भ्याट नं ६०९७४८१९२)बाट ०७७ असार २५ गतेको मितिमा खरिद गरिएको विभिन्न सामानको दररेट दोब्बर तेब्बर बढाएर खरिद गरिएको बिल फेला परेपछि पोखरीया नगरपालिकाको वास्तविक छबि बाहिर आएको छ ।

कुन सामानमा कति पैसा खायो ?

बजारमा अधिकतम ७ सय सम्ममा पाइने तौल नाप्ने एउटा मेसिन २५ सयमा, अधिकतम १३ सयमा पाइने आलासहितको बीपी सेट २२ सयमा, बजारमा १९ सयमा पाइने आईयूसिडी सेट २५ सयमा, १६ सयमा पाइने रिमुभर सेट २५ सयमा, १३ सयमा पाइने इम्प्लान्ट रिमुभर सेट १७ सयमा सिटि फर्मा वीरगंजबाट खरिद गरिएको छ भने सिटी सर्जिकलबाट आईयूसिडी रिमुभर सेट ५५ सयमा, इम्प्लान्ट सेट ३४ सयमा र क्यापिटल सर्जिकल प्रालि काठमाडौंबाट विपि सेट २५ सयमा खरिद गरिएको छ ।

औषधीको मात्रै ३० लाखको एउटा टेण्डरमा कम्तिमा ५ लाखभन्दा बढीको कमिसनको भागबन्डा कर्मचारीहरुले लगाएको ती जनप्रतिनिधिको दाबी छ । यस विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीसँग कुरा गर्न खोज्दा उनको मोबाइल स्वीचअफ थियो ।

कोरोना महामारीमा यातायात तथा बजार बन्द रहेको अवस्थामा कुनै कुनै सामान महगो दरमा खरिद गरिएको स्वास्थ्य शाखा संयोजक मिश्रले बताए । महामारीलाई लक्षित गरी सामान महँगोमा खरिद गर्न आफुहरु बाध्य भएको समेत बताए ।

सो विषयमा सिटी फार्मा र सिटी सर्जिकलका सञ्चालक दीपक अग्रवालले स्वास्थ्य सामाग्री तथा अन्य सामान बिक्रीवितरण सबै प्रक्रिया टेण्डर मार्फत भएकोले आफ्नो दोष नरहेको दाबी गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *