TodayPati

सर्वोच्चले जनताको बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्छ : मुख्यमन्त्री राउत

टुडेपाटी-
जनकपुरधाम, फागुन ७ गते ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेससहित नेपाली जनताले आफ्नो पटक–पटकको बलिदानीबाट प्राप्त गरेको उपलब्धिको सर्वोच्च अदालतले रक्षा गर्ने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार जनकपुरधाममा ७१ औं प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै राउतले वर्तमान अन्यौलताबाट सर्वोच्चले निकास दिने विश्वास व्यक्त गरे ।

Sponsored

‘अहिले अन्यौलताको स्थिति छ । ‘भोलि के हुन्छ हुँदैन भन्ने आँकलन भइरहेको छ । देशमा आएको उपलब्धि गुम्छ कि रु जस्ता अन्यौलता छ,’ मुख्यमन्त्री राउतले भने, ‘सर्वोच्चले उपलब्धिलाई बचाउँदै अन्यौलता हटाउनेमा विश्वस्त छु ।’

लोकतन्त्र, गणतन्त्र, संघीयताका लागि बलिदानी दिने योद्धा र तीनका परिवार अहिले उपलब्धि हराउने चिन्तामा रहेको बताउँदै यो चिन्तालाई हटाउनुपर्ने उनले बताए ।

‘हामीलाई विश्वास छ सर्वोच्च अदालतले संविधानको रक्षा गर्नेछ,’ उनले भने, ‘प्राप्त उपलब्धि कायम गराउँदै नेपाली जनतालाई अहिलेको परिस्थितिबाट निकास दिनेछ ।’

Sponsored

संविधानमा रहेका केही त्रुटीलाई सच्याएर सबैको संविधान बनाउनुपर्छ भन्ने विषयमा मतभेद कायम रहे पनि संविधानले गणतन्त्र, लोकतन्त्र, संघीयता, समावेशितालाई सुनिश्चित गरेको उनको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *