अमेरिकामा भयानक हिमआँधी : २३ जनाको ज्यान गयो, देशको ७३ प्रतिशत भाग हिउँले ढाक्यो
एजेन्सी
जनकपुरधाम, फागुन ५ गते ।
भयानक हिमआँधीले अमेरिका अस्तव्यस्त बनेको छ ।
मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण हालसम्म कम्तिमा २३ जनाको मृत्यु भएको छ ।
आँधीका कारण टेक्सास राज्यका लाखौं मानिस बिजुलीबाट बञ्चित भएका छन्।
बिबिसीका अनुसार मंगलबार आएको आँधीले कोरोना खोप वितरणलाई पनि प्रभावित पारेको छ।
Sponsored
यसको असर आइतबारसम्म रहने बताइएको छ।
टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ।
नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको छ।
अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार अहिले देशको ७३ प्रतिशत भाग हिउँले ढाकेको छ।
बिजुली नभएपछि मानिसहरूले कोठा तताउन पाएका छैनन् भने इन्टरनेटको पहुँचबाट पनि बाहिरिएका छन्।
तापक्रम माइनसमा झरेपछि सडकमा गाडी चलाउन पनि कठिन भएको छ। सुपरमार्केटहरूमा मानिसको भीड लाग्न थालेको छ।
केही राज्यहरूमा मंगलबार विद्यालयहरू बन्द गरिएका छन्।
चिसो मौसम र तीव्र हावाले अधिकारीहरूलाई मागअनुसार बिजुली आपूर्ति गर्न कठिनाइ भएको हो।
अमेरिकी सञ्चारमाध्यमहरूका चिसोका कारण बिजुलीको माग यति धेरै बढेको थियो कि अधिकारीहरूले सबैभन्दा खराब समयमा पनि यति माग होला भन्ने सोचेकै थिएनन्।
माइनस १८ डिग्रीसम्म तापक्रम पुगेको टेक्सासमा एकातिर माग बढेको थियो, अर्कातिर हावाबाट बिजुली निकाल्ने टर्बाइनहरू जमेका थिए भने ग्यास(फायर पावर प्लान्टले पनि काम गर्न छोडेका थिए।
अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताएका छन्।
उनले टेक्सासमा आपतकाल घोषणा गरेका छन्।
हिमआँधीको असर छिमेकी मेक्सिकोमा पनि देखिएको छ। त्यहाँका विभिन्न राज्यहरूमा पनि बिद्युत सेवा अवरूद्ध भएको छ।