TodayPati

महोत्तरीमा बितीय संस्थामा १ करोड ६२ लाख रुपैयाँ हिनामिना, दीपक कर्णसहित २ पक्राउ

टुडेपाटी

महोत्तरी, फागुन २९ गते ।

महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित एक वित्तीय संस्थामा डेढ करोड रूपैयाँ भन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पिपरामा सञ्चालित ‘नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा’को एक करोड ६१ लाख ७६ हजार रूपैयाँ रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

Sponsored

पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–३ बस्ने २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका–३ बस्ने ३१ वर्षीय दीपककुमार कर्ण रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए। पक्राउ परेका तवदार नेरुडे लघुवित्त वित्तीय संस्थाका वरिष्ठ उत्प्रेरक र कर्ण सहायक उत्प्रेरक रहेका छन्। उनीहरुलाई प्रहरीले मङ्गलबार राति पक्राउ गरेर आज सञ्चारकर्मीलाई जानकारी गराइएको हो।

पक्राउ परेका दुवैजनाले नक्कली ऋणी बनाएर झुटा विवरण तयार पारी कर्जा लगानी देखाई र सदस्यबाट मासिक साँवा किस्ता र ब्याज रकमसमेत असुली उठाई बैंकमा जम्मा नगरी एक करोड ६१ लाख ७६ हजार आठ सय ६० रूपैयाँ हिनामिना गरेको देखिएको छ।

सो वित्तीय संस्थाको केन्द्रीय कार्यालय विराटनगरका कामु सहायक महाप्रबन्धक ऋषिप्रसाद न्यौपानेको उजुरीका आधारमा ती दुवैमाथि बैंकिङ कसुर मुद्दामा कारवाही भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

Sponsored

यसका अलावा त्यत्रो ठूलो रकम हिनामिनामा ती दुईजनाको मात्रै हात नरहेको आशङ्का गर्दै वित्तीय संस्थाका सञ्चालक तथा थप कर्मचारीमाथि पनि उच्च निगरानी भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।

रासस

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *