३ वर्षमा प्रदेश २ सरकारको ९३ उपलब्धि
टुडेपाटी-
जनकपुरधाम, फागुन ३ गते ।
प्रदेश २ सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ ।
२०७४ फागुन ३ गतेकै दिन मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए । उनीसँगै ३ जना मन्त्रीले पनि शपथ ग्रहण गरेका थिए ।
प्रदेश २ सरकारले ३ वर्ष पूरा गरेको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले आफ्ना सरकारको उपलब्धि सुनाएका छन् । मुख्यमन्त्री राउतले ११ शीर्षकमा ९३ बुँदे प्रदेश सरकारको ३ वर्षको उपलब्धि सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री राउतले राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्यमले प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै अगाडि बढिरहेको दाबी गरेका छन् ।
बेटी पढाउ बेटी बचाउ अभियान, एक सहिद परिवार एक रोजगारी, ३९ विधेयक प्रमाणीकरण, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण लगायतलाई उपलब्धिका रुपमा मुख्यमन्त्री राउतले जनाएका छन् ।
Sponsored
मुख्यमन्त्री राउतले प्रदेश सरकारको ३ वर्षको उपलब्धि सुनाइरहँदा संघ सरकारको हस्तक्षेपकारी नीति तथा कर्मचारी अभावका कारण समस्या भइरहेको अभिव्यक्ति दिन पनि बिर्सेनन् । यद्यपि उनले प्रदेश सरकार विभिन्न चुनौतीका बावजुद सुशासन स्थापित गर्न कटिवद्ध रहेको प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रदेश २ सरकारले आयोजना गरेको उपलब्धी सार्वजनिक समारोहमा विपक्षी दलका कुनै सांसद उपस्थित भएका थिएनन् ।
प्रदेश सरकारले तीन वर्ष पूरा गरेको अवसरमा सोमबार आयोजित समारोहमा सत्ता पक्षका सांसद र मन्त्रीको मात्र उपस्थित रहेको थियो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आयोजना गरेको समारोहमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहका कुनै सांसद उपस्थित भएका थिएनन् ।