फागुन ५ देखि १५ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने प्रचण्ड–नेपाल समूहको घोषणा
टुडेपाटी-
काठमाडौं, फागुन २ गते ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड माधव समूहले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
फागुन ५ गतेदेखि फागुन १५ गतेसम्मको चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको प्रवक्ता तथा संघर्ष समितिको संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रचण्ड–नेपाल समूहले अर्को चरणको आन्दोलन घोषणा गर्दै
गत पुस ५ गते प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–नेपाल समूहले आन्दोलन गर्दै आएको छ ।
राजनीतिक रुपमा विभाजित भएको प्रचण्ड–नेपाल समूहले सडक संघर्षमार्फत ओली समूह र सरकारको विरोध गर्दै आएको छ भने ओली समूह पनि शक्ति प्रदर्शन र आमसभामा उत्रिएको छ ।
यस्ता छन् संघर्षका कार्यक्रमहरुः
(१) २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम ।
Sponsored
(२) २०७७ फागुन ६ गते प्रतिगमन, महँगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम । समय अपरान्ह ४ देखि ५ बजेसम्म ।
(३) २०७७ फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम ।
(४) २०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन कार्यक्रम ।
(५) २०७७ फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम ।
(६) २०७७ फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम ।
(७) २०७७ फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम ।
(८) २०७७ फागुन ११ गते मधेशी, आदिबासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम ।
(९) २०७७ फागुन १२ गते चितवन, फागुन २१ गते दाङ र जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा ।
(१०) संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता ।
(११) २०७७ फागुन १४ गते काठमाडौंमा युवा ¥याली ।
(१२) २०७७ फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम ।