प्रदेश २ का मन्त्री र राज्यमन्त्रीहरु लकडाउनमा पनि लिए लाखौं भ्रमण भत्ता
शैलेन्द्र क्रान्ति –
जनकपुरधाम,फागुन १ गते ।
कोरोना महामारी नियन्त्रण तथा रोकथामकालागि गरिएको लकडाउन अवधिमा समेत प्रदेश २ सरकारका मन्त्री तथा राज्यमन्त्रीहरुले लाखौं रुपैयाँ अनुगमन तथा दैनिक भ्रमण भत्ता बुझेको पाइएको छ ।
देश र जनताको आर्थिक अवस्था जर्जर भएको बेला प्रदेशका मन्त्री र राज्यमन्त्रीहरुले झुटो विवरण पेश गर्दै मनपरि दैनिक भ्रमण भत्ता लिएका हुन् । प्रदेश सरकारका मन्त्रालयहरुले उपलब्ध गराएको विवरण अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा चैतदेखि असाढ मसान्तसम्म पूर्णरूपमा लकडाउन तथा निषेधाज्ञा जारी गरिएको अवस्थामा समेत मन्त्री तथा राज्यमन्त्रीले नियमित अवस्थाझैँ भत्ता बापत लाखौँ रुपैँया बुझेका हुन् ।
लामो समयदेखि निरन्तर दौडधुप तथा सूचना आयोगमा उजुरबाजुरपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सहित चार वटा मन्त्रालयले टुडेपाटीकर्मीलाई सूचना उपलब्ध गराएको छ । यद्दपी विभिन्न बहाना देखाउँदै समाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयले सूचना दिन इन्कार गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को मुख्यमन्त्री कार्यालय तथा मन्त्रालयहरुले उपलब्ध गराएको तथ्यांक अनुसार दैनिक भ्रमणभत्ता बापत मुख्यमन्त्री लालबाबु राउत भन्दा बढी मन्त्री र राज्यमन्त्रीले रकम बुझेका छन् ।
तथ्यांक अनुसार सबैभन्दा बढी आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले ३ लाख १ हजार ९०५ र सबभन्दा कम मुख्यमन्त्री लालबाबु राउतलेमात्र ७७ हजार रुपैयाँ दैनिक भ्रमण लिएका छन् ।
प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका कानुन मन्त्री यादवले वर्षमा हुने १६५ दिन मध्ये १२० दिनको भ्रमण भत्ता बुझेका हुन् । त्यस अघिल्लो आर्थिक वर्ष २०७५र ७६ मा भने मन्त्री यादवले मात्र १ लाख ३९ हजार ८३४ रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेका थिए ।
Sponsored
यस्तै मुख्यमन्त्री लालबाबु राउतले अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा मन्त्री र राज्यमन्त्रीमा सबैभन्दा बढी ३ लाख ७ हजार ८४० रुपैयाँ बुझेका थिए ।
यस्तै आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले आ.व. २०७६÷०७७ मा दैनिक भ्रमण भत्ता बापत २ लाख ४२ हजार ५ सय रुपैयाँ बुझेका छन् । आ.व. २०७५÷०७६ मा उनले २ लाख ८ हजार ४०३ रुपैयाँ बुझेका थिए ।
यसैगरी आ.व. २०७६÷०७७ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले २ लाख १७ हजार ५ सय रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेका छन् भने उनी भन्दा बढी राज्यमन्त्री सुरेश मण्डलले २ लाख ३६ हजार १६५ रुपैयाँ बुझेको मन्त्रालयले उपलब्ध गराएको सूचनामा उल्लेख छ ।
यसअघि आ.व. २०७५÷०७६ मा मन्त्री रायले मात्र ५५ हजार रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेका थिए भने राज्यमन्त्री मण्डल १ लाख ८२ हजार ७२४ रूपैयाँ बुझेका थिए ।
भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आ.व. २०७६÷०७७ मा १ लाख ४३ हजार ५६५ रुपैयाँ भत्ता बुझेका छन् भने सो मन्त्रालयकी राज्यमन्त्री डिम्पल झाले मन्त्री सोनलको तुल्नामा बढी रकम दैनिक भ्रमण भत्ता लिएकी छन् । राज्यमन्त्री झाले २ लाख २८ हजार ६५० रुपैयाँ भ्रमण भत्ता बुझेको मन्त्रालयको लेखा शाखाले जनाएको छ ।
यसअघिको आ.व. २०७५÷०७६ मा मन्त्री सोनलले २ लाख ७४ हजार ९९० रुपैयाँ र राज्यमन्त्री झाले १ लाख ५७ हजार ६० रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेका थिए ।
त्यस्तै भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले आ.व. २०७६÷०७७ मा १ लाख ६५ हजार २५ रुपैयाँ भ्रमण भत्ता बापत बुझेका छन् भने राज्यमन्त्री योगेन्द्र राय यमदवले १ लाख ७६ हजार ७५० रुपैयाँ भ्रमण भत्ता लिएको मन्त्रालयले उपलब्ध गराएको सूचनामा उल्लेख छ ।
त्यस अघिल्लो आ.व. २०७५÷०७६ मा मन्त्री साहले १ लाख ४ हजार ३७० र राज्यमन्त्री यादवले १ लाख ७४ हजार ६ सय भ्रमण भत्ता बुझेका थिए ।
जबकी आर्थिक वर्ष २०७६÷०७७ को चार महिना लकडाउन नै परेको थियो भने सो अवधिमा भ्रमण, सार्वजनिक कार्यक्रम निषेध गरिएको थियो । कोरोना कहरले देश र जनताको अवस्था दयनीय हुँदा समेत सरकारी ढुकुटीबाट सेवासुविधा लिइरहेका मन्त्री र राज्यमन्त्री झुटो विवरण पेश गरि दैनिक भ्रमण भत्ता तथा अनुगमन भत्ता लिन पछि नपरेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।
आंशिक रुपमै उपलब्ध गराएको सूचना तथ्यांक अनुसार अघिल्ला आर्थिक वर्षको तुल्नामा ४ महिना कोरोना कहरमै बितेको आ.व. २०७६÷०७७ मा लाखौं रकम मन्त्री र राज्यमन्त्रीले बुझेका छन् ।
यता प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका अान्तरिक मामिलामा तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले कोरोना कहरमा गरिएको लकडाउनमा समेत कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेशका मन्त्री तथा राज्यमन्त्रीहर फ्रन्टलाइनमा खटेकाले सोही अनुसार दैनिक भ्रमण भत्ता बुझेको प्रतिक्रिया दिए ।
‘जनता समस्यामा हुँदा कोरोना रोकथामका लागि क्याबिनेट बैठक, छलफल, योजना निर्माण लगायत काजमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्री अहोरात्र फ्रन्टलाइनमा खटेका थिए ‘मन्त्री यादवले टुडेपाटीसंग भने ‘सोही अनुसार भ्रमण भत्ता बुझ्नु स्वभाविक हो ‘
मुख्यमन्त्री र मन्त्रीले सरकारी कामको सिलसिलामा वा नेपाल सरकारको तर्फबाट विभिन्न समारोह, उत्सव, सम्मेआदिमा भाग लिन नेपाल वा नेपाल बाहिर भ्रमण गर्दा दैनिक भ्रमण भत्ता पाउने प्रावधान छ ।
प्रदेश २ का मुख्यमन्त्रीले एकदिनको ३ हजार रुपैयाँ , मन्त्री र राज्यमन्त्री एकदिनको २ हजार ५ सय रुपैयाँ भ्रमण भत्ता पाउने ’मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५’ मा उल्लेख छ ।
सूचना दिँदा कर्मचारीलाई मन्त्रीको धम्की
मन्त्रालयमा मन्त्रीहरुले गर्ने अनियमितता तथा मनपरिको भण्डाफोर हुने डरले प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयदेखि सबै मन्त्रालयले अपारदर्शी नीति अबलम्बन गरेको देखिएको छ । सरकारी तथा गैर सरकारी निकायमा सार्वजनिक महत्वको सूचना सहज रुपमै आम नेपाली नागरिकको संवैधानिक मौलिक अधिकार हो । जुन नेपालको संविधानको धारा २७ ले प्रत्याभूत गरेको छ । तर भ्रष्टाचारमा शुन्य सहनशीलता, सुशासन रपारदर्शिताको निति लिएका लालबाबु सरकरको मन्त्रालयहरुमा सहज रुपमा सूचना पाउन फलामको च्युरा चपाउनु जस्तै हो ।
आफ्नो भ्रष्टाचार तथा अनाधिकृत गतिविधिको भण्डाफोर नहोस् भनेर मन्त्रालयका कर्मचारीलाई सूचना दिन, वेबसाइटमा प्रकाशित गर्न मुख्यान्त्री र मन्त्रीहरुले अंकुश लागाएका छन् । मुख्यमन्त्री कार्यालयका एक उच्चस्तरका कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा कसैलाई कुनै जानकारी वा सूचना दिन कर्मचारीहरुलाई निकै अप्ठ्यारो भएको बताए ।
‘यहाबाट गएको सूचनाले मुख्यमन्त्री अथवा उनका आसेपासेमाथि समाचार सार्वजनिक भए कर्मचारीले गाली, धम्की र दुर्ववहार सहनु पर्छ’ ती कर्मचारीले भने, ‘एकदिन म आफै झण्डैले कुटिनबाट बचे ।’ मुख्यमन्त्री कार्यालय तथा मन्त्रालयहरुमा सूचनाको हक प्रयोग गरि सूचना माग्दा समेत कर्मचारीहरु डरले आंशिक सूचना मात्र उपलब्ध गराउने गरेका छन् ।