TodayPati

महोत्तरी : विद्यालय बन्द गरेर प्रधानाध्यापक नै प्रचण्ड-नेपाल समूहको जुलुसमा, पठनपाठन ठप्प

टुडेपाटी-
महोत्तरी, माघ ३० गते ।

नेकपा प्रचण्ड-नेपाल समूहले बुधबार काठमाडौंमा आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा महोत्तरीसहित तराईबाट पनि हजारौं नेताकार्यकर्ता सहभागी थिए । कुनै राजनीति पार्टीको जुलुसमा उनको नेताकार्यकर्ता सहभागी हुनु आमनागरिकको लागि चासोको विषय छैन । तर, शिक्षकहरु नै आन्दोलनमा पुगेपछि पठनपाठन ठप्प भएको छ ।

यस्तै, लापरबाहीका पराकाष्ठा नाघेको विद्यालयका शिक्षक हुन् महोत्तरीको बर्दीबास नगरपालिका-७, प्रेमनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षकहरू । नेकपा प्रचण्ड–माधव नेपाल समूहको प्रदर्शनमा सहभागी हुन काठमाडौं नै पुगेका थिए ।

Sponsored

विद्यालयका प्रधानाध्यापक राम सेवक महतो जुलुसमा सहभागिता हुन काठमाडौं पुगेको कार्यालय सहयोगी गंगा तिवारीले जानकारी दिएका छन् । प्रधानाध्यापक महतोले पनि आफु काठमाडौं आएको फोनमा स्वीकारे । तर, के कामले काठमाडौं पुगेको जिज्ञासामा उनले केहि बोलेनन् ।

यस्तै शिक्षक राजवीर महतो र गोविन्द साह पनि प्रदर्शनमा सहभागी हुन काठमाडौं पुगेको बुझिएको छ । उनीहरू प्रदर्शनमा सहभागी भएको तस्विरहरू सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको छ ।

प्रधानाध्यापक महतोसहित तीन शिक्षक दुई दिनदेखि अनुपस्थित भएका कारण पठनपाठन नै ठप्प रहेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

Sponsored

कोरोना संक्रमणका कारण लामो समयदेखि विद्यालय बन्द भई अहिले बल्लतल्ल सञ्चालनमा आएपनि शिक्षकहरू चरम लापरबाही गरिरहँदा पनि स्थानीय सरकार मौन बनेको छ । शैक्षिकसत्र सकिन लाग्दा पनि विज्ञान पुस्तकको एउटा पाठ पनि पढाइ नभएको विद्यार्थीहरू बताउँछन् । पटक-पटक प्रधानाध्यापक समक्ष गुनासो गर्दा पनि वास्ता नगरेको उनीहरू बताउँछन्‌ ।

कक्षा १० मा अध्ययनरत छात्रा कविता महतोले शिक्षक अभावमा विज्ञान र लेखा विषयको पढाइ नै नभएको बताइन् । उनले भनिन्, ‘शिक्षक हुँदा पनि पढाइमा ध्यान दिँदैन ।’

विद्यालयका शिक्षकहरूले चरम लापरबाही गर्ने गरको स्थानीय पञ्चु साहको भनाइ छ । उनले भने, ‘अधिकांश विद्यार्थी विद्यालय छुट्टी हुने समय अगावै घर पुग्छन्, हामीले पटक-पटक पढाइको गुणस्तर सुधार गर्न भनेपनि कसैले सुनेको छैन ।’

स्थानीय शिक्षकहरू आफ्नो निजी काममा व्यस्त हुँदा पठनपाठन प्रभावित बनेको स्थानीय हरिदेव महतो सुनाउँछन् ।

विद्यालयका शिक्षक कमलेश यादवले भने जनशक्ति अभावका कारण विद्यालयमा पठनपाठन प्रभावित भइरहेको दाबी गरे । मावि तहमा शिक्षकको अभाव रहेको र विद्यालय व्यवस्थापन समिति नहुँदा सुधार गर्न समस्या भएको शिक्षक यादवको जिकिर छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *