सरस्वतीका मूर्तिलाई अन्तिमरुप दिन सप्तरीका मूर्तिकारलाई भ्याइनभ्याई
शुभ नारायण यादव-
सप्तरी, माघ २९ गते ।
सप्तरी लगायत तराईका मूर्तिकारहरुलाई नजिकिँदै गरेको सरस्वती पूजाका लागि मुर्ति बनाउन भ्याइनभ्याई छ । सरस्वती पुजा आउन अब ५ दिन मात्र बाँकी छ ।
मुर्तिको अर्डर बढन थालेपछि ग्रामीण र सहरी क्षेत्रका दर्जनौं मुर्तिकार अहिले माटाका सरस्वतीको मुर्ति बनाउन र अन्तिम रुप दिन व्यस्त देखिएका छन् ।
यस्तै मुर्तिहरु बिक्री गरेर कोही कोहीले वर्षौंभरिको जोहो समेत टार्ने गरेका छन् ।
सप्तरी राजविराज ७ का धुरण सरदार माझीले अहिले सम्म ४९ वटा मुर्ति बनाएका हुन् । अर्डर भने दिनहु जसो आउने गरेको छ ।
उमेरले ५० वर्ष नाघेका माझी बास, पराल, माटो र रंगको संयोजन गरेर मुर्ति बनाउँछन् ।
मुर्तिको आकार र मिहिनेत हेरी २ हजार ५ सय देखि १५ हजार रुपैयाँ सम्मका सरस्वतीका मुर्ति बनाएका हुन् उनी । ‘सबै अर्डरको हो ।’ उनले भने, ‘तर अर्डर आएजति बनाउन सकिएको छैन ।’
Sponsored
विष्णुपर गाउँपालिका ६ का अर्का मुर्तिकार श्याम मुखियाले थपे, ‘अर्डर धेरै आएको छ तर चिसोले गर्दा चाहे जति बनाउन सकिएको छैन ।’
मुर्ति कला प्रति युवाहरुको आर्कषण घट्दैै गएकोलेे पनि समस्या भएको मुखिया सुनाउँछन् ।
प्रति ट्रयाक्टर एक हजारका दरले माटो खरिद गर्नु पर्ने र मुर्तिलाई सजाउन प्रयोग गरिने रंगरोगन र सिंगारका सामान पनि महंगिएकाले यस पल्ट मुर्तिको लागत मुल्य बढी पर्न गएको मुखियाले बताए ।
बुद्धि ज्ञान र विद्याको रुपमा सारा विश्वमा आफ्नो कृपाले ज्ञानको प्रकाश फैलाउने सरस्वतीलाई श्रीपञ्चमीका दिन विद्यार्थीले श्रद्धापूर्वक पूजा अर्चना गर्ने परम्परा छ ।
यस पूजाको तयारीका लागि विद्यार्थी, अभिभावक र विद्यालयका संचालक सबै उत्साहका साथ जुटेका छन् । यसपटक सरस्वती पूजा अर्थात् श्रीपञ्चमी आगामी मंगलबारको दिन हुने भएका हुन् ।