TodayPati

ओली समुहमा बबण्डर मच्चियो, बादल, प्रभु साह र टोपबहादुरले यस्तो हैसियत खोजेपछि तनावमा ओली

टुडेपाटी-

जनकपुरधाम, माघ २९ गते ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कमयुनिष्ट पार्टी (नेकपा) मा भागबण्डाको विषय नमिल्दा पार्टीभित्र बबण्डर मच्चिएको छ ।

Sponsored

सबैतिर ‘सेटिङ’ मिलाएर मात्र आफूले प्रतिनिधि सभा बिघटन गरेको भन्दै नेता–कार्यकर्ता आफूतिर तानेका प्रधानमन्त्री ओलीले नेताहरुको व्यवस्थापन गर्न नसक्दा चारैतीरबाट जेलिएका छन् ।

सोही कारणले प्रधानमन्त्री ओलीलाई सहारा दिएका दुइजना मन्त्री फेरि आफुतीरै फर्किने प्रयास गरिरहेको बुधबार प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा गरेको विरोधसभामा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बताएका थिए ।

‘‘ओलीकै दुई मन्त्रीले मसँग भेट गरिरहेका छन्। उनीहरु पनि हामीतिरै फर्किन्छन्,’ उनले भनेका थिए ।

Sponsored

स्रोतका अनुसार पुस ९ गते बालुवाटारमा बसेको आफूपक्षीय केन्द्रीय नेताहरुको बैठकअघि प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापालाई दोस्रो बरियता दिने वचन दिएका थिए।

त्यही वचनलाई विश्वास गर्दै थापाले अन्तिम समयमा आएर ‘ओली क्याम्प’ रोजेका थिए। तर, ओलीले थापालाई महासचिव विष्णु पौडेलभन्दा पनि तलको बरियतामा राख्न खोजेपछि थापा चिढिएका छन्।

थापाको असन्तुष्टि बढ्दै गएर अहिले ओलीनिकट युवा संघमा समानान्तर समिति बनिसकेको छ।

को–को छन् असन्तुष्ट ?

ओलीको कार्यशैली र व्यवहारबाट पछिल्लोसमय पूर्वमाओवादी पृष्ठभूमिबाट गएका नेताहरु असन्तुष्ट बनेका छन्।

ओलीको २५०० को केन्द्रीय समितिमा गृहमन्त्री थापा एक्लैले ४० प्रतिशत कोटा खोजेका छन्।

त्यसैगरि शहरी विकासमन्त्री प्रभु साहले पनि मधेशको प्रतिनिधित्व आफू नै जनाधार भएको नेतामा पर्ने दाबी प्रस्तुत गर्दै ३०० भन्दा बढी केन्द्रीय सदस्यको दाबी गरिरहेको स्रोतले बतायो।

आफ्नो पक्षमा पूर्वमाओवादीका कुनै नेता नभए पनि पछिल्लोसमय उर्जामन्त्री टोपबहादुर रायमाझीले समेत आफ्ना समर्थकहरुलाई केन्द्रीय समितिमा ल्याउन गृहकार्य गरिरहेका छन्।

रायमाझीले आफूलाई भेट्न आउने कार्यकर्तालाई ‘तपाई केन्द्रीय समितिमा बस्नुस्, म मिलाउँछु’ भन्दै ‘कन्भिन्स’ गर्ने प्रयास गरिरहेको एक नेताले बताए।

मन्त्रिपरिषदमा सुरुदेखि नै ओलीतिर लागेका उद्योगमन्त्री लेखराज भट्ट ओलीसँग सन्तुष्ट रहे पनि भट्टनिकटका नेताहरु ओलीसँग चिढिएका छन्।

स्रोतका अनुसार ओलीले ईश्वर पोखरेल र गृहमन्त्री थापा दुवैलाई आफूपछिको वरिष्ठ बनाउने वचन दिएका थिए।

त्यसैगरि उर्जामन्त्री रायमाझीलाई पनि ‘तपाई त उपप्रधानमन्त्री भइसकेको मान्छे, विष्णु पौडेलभन्दा सिनियर हो नि’ भन्दै ‘कन्भिन्स’ गरेका थिए।

तर, अहिले गृहमन्त्री थापालाई नै पौडेलभन्दा तल राख्ने गृहकार्य चलेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *