विद्युत प्राधिकरणमा कुलमान घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्यलाई ल्याउने सरकारको निर्णय
टुडेपाटी-
काठमाडौँ, माघ २७ गते ।
नेपाल विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने सरकारले निर्णय गरेको छ ।
कायम मुकायम रहेका हितेन्द्रदेव शाक्यलाई नै सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को माघ २६ गते बसेको बैठकले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।
यसअघि करिब ४ वर्ष उनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर जिम्मेवारी सम्हालेका थिए ।
Sponsored
यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि विद्युत् प्राधिकरणमा यो पद खाली थियो।
लामो समयदेखिको लोडसेडिङ अन्त्य गराउन ठूलो योगदान गरेकाले पुनः घिसिङलाई नै नियुक्ति दिनुपर्ने भन्दै नागरिकले सडक आन्दोलन नै गरेका थिए।
प्रतिनिधि सभा विघटन भएपछि ऊर्जामन्त्रीबाट राजीनामा दिएका नेकपा नेता वर्षमान पुनले पनि जनताको आवाजअनुसार घिसिङको पुनर्नियुक्तिका लागि आफूले मन्त्रिपरिषद् तथा सीधै प्रस्ताव लाँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप लगाउने गरेका छन्।
कार्यकाल पूरा भएपछि घिसिङ गत भदौ २८ गते प्राधिकरणको निर्देशक पदबाट बाहिरिएका थिए। त्यसपछि लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो भने गत कात्तिक २१ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हितेन्द्रदेव शाक्यलाई कायममुकाय कार्यकारी निर्देशक बनाएको थियो।