प्रदेश २ मा वैशाख १७ मै चुनाव गराउने सरकारको निर्णय, ओली आज निर्वाचन आयोग जाँदै
टुडेपाटी-
काठमाडौँ, माघ २७ गते ।
सरकारले घोषणा गरे अनुसार दुई चरणमा चुनाव गर्ने गरेको निर्णयलाई निरन्तरता दिने भएको छ ।
सरकारले तोके अनुसार अगामी वैशाख १७ र २७ का लागि घोषित निर्वाचन कसरी गर्ने भन्ने विषयमा सोमवार साँझ बसेको मन्त्रीपरिषदको बैठकबाट निर्णय गरेको हो ।
बैठकले पहिलो चरणमा वैशाख १७ गते प्रदेश नम्बर १, २, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा र दोस्रो चरणमा वैशाख २७ गते बागमती र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने निर्णय गरेको हो।
आज निर्वाचन आयोगमा गएर प्रधानमन्त्री ओलीले यिनै विषय जानकारी गराउँदै निर्वाचन तयारीबारे छलफल गर्ने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
Sponsored
‘देशका १३५ वटै निर्वाचन क्षेत्रमा कर्मचारी, सुरक्षा, मतपत्रलगायत विषयमा आयोगलाई सरकारले के कस्ता सहयोग गर्नुपर्छ भन्ने विषयमा प्रधानमन्त्रीज्यूले छलफल गर्नुहुन्छ,’ मन्त्री श्रेष्ठले भने।
प्रधानमन्त्री ओली आज बिहान ११ बजे निर्वाचन आयोग पुग्दै छन्।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ का लागि चुनाव घोषणा गरेकी हुन्।
त्यही दिनदेखि विभाजन भएका नेकपाका दुई पक्षमध्ये प्रचण्ड–नेपाल समूह ओलीले असंवैधानिक कदम चालेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको छ।