अब लाइसेन्सको लिखित परीक्षा पास गर्नेले १८ महिनासम्म ट्राइल दिन पाउने
टुडेपाटी-
जनकपुरधाम, माघ २५ गते ।
अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन् ।
यातायात व्यवस्था विभागले लिखित परीक्षा पास भएको १८ महिनासम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने जानाएको छ ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पुर्याएको छ।
विभागका निर्देशक भुसालले एक विज्ञप्ति जारी गर्दै ट्राइल दिन पाउने १८ महिने प्रावधानको विषयमा जानकारी गराएका हुन् ।
‘सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास भएको एक वर्षभित्र राजश्व तिर्नुपर्ने, राजश्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको छ’, विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Sponsored