नबुझ्ने अधिकांश प्रदेश २ का मानिस, केपी ओली को हो प्रश्नमा : ‘सूर्य छाप, एमाले ।’
सहयोग रञ्जित-
काठमाडौं, माघ २३ गते ।
रौतहटबाट बिहीवार राति बाट बस छुट्यो । भरिभराउ गाडीमा करिब ७ घण्टाको यात्रा गरी काठमाडौं पुग्नु थियो यात्रुहरुलाई । उद्देश्य – काठमाडौं पुग्नु । दरबारमार्गमा प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुन्नु । त्यही बसमा थिए मोलापुर नगरपालिकाका रामसिंह यादव ।
त्यहाँका मेयर रीनाकुमारी साह र उनका पति तथा शहरी विकास मन्त्री प्रभु साहले भनेपछि उनी काठमाडौंको यात्रामा हानिए ।
मन्त्री भएपछि प्रभु साहले आफ्नो जिल्ला विकास गर्ने भन्दै विश्वस्त सुनिए उनी । ‘साहले बोलाउनु भयो । हामी आयौं,’ किन आएको त काठमाडौं भन्दा उनले यसै भने ।
यादवजस्तै सयौं मानिसहरु ‘नाइट बसमा’ आज काठमाडौं आइपुगेका थिए । यादवका अनुसार रौतहटबाट मात्रै ७० भन्दा बढी बस राति काठमाडौंका लागि हिँडेको थियो । रौतहटसँगै मधेशका अन्य जिल्लाबाट बिहानै काठमाडौं पुगेका उनीहरुलाई उपत्यकाका विभिन्न स्थानमा राखिएको थियो । त्यसपछि र्यालीमा सहभागी भए उनीहरु ।
र्यालीको गन्तव्य थियो दरबारमार्ग । उनीहरुजस्तै आएका धेरैलाई कार्यक्रम बारेमा थाहा रहेनछ । न त नेपाली भाषा नै बुझ्ने । बालबालिका र वृद्धवृद्धा पनि थिए उनीसँग ।
मञ्चबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन चलिरहँदाको दृष्य रोचक थियो । ओली महेन्द्रको शालिकतिर फर्केर भाषण गरिरहेका थिए । ओलीको ठीक दायाँतिर चर्चित कम्पनी यतीको भर्खरै बनेको बिल्डिङ थियो जहाँको डिस्प्लेमा ओलीको सम्बोधनको चलचित्र चलिरहेको थियो । नेपाल ट्रस्टको जमीनमा बनेको यतीको बिल्डिङ ओलीकै सद्भावका कारण उक्त समूहले हात पारेको थियो । यतीलाई जग्गा दिन नीतिगत भ्रष्टाचार गरेको विषयलाई लिएर ओलीको चर्को आलोचना भइरहेको थियो ।
Sponsored
त्यही मञ्चबाट ओलीले समृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रणको चर्को भाषण गरिरहेका थिए । मञ्च तल छरिएर रहेकाहरुले हुटिङ् दिए । कतिले बुझे कतिले बुझेनन् ।
यस्तै नबुझ्ने मध्येका हुन्- प्रदेश २ बाट आएका अधिकांश मानिसहरु ।
आफूलाई बिहारी सिंह भन्ने व्यक्ति सप्तरीबाट बिहानै पशुपति पुगेका थिए । त्यहाँबाट सिधै दरबारमार्ग । परिवारसहित आएका उनलाई आज ओलीले बोल्छन् भन्ने जानकारी रहेछ ।
‘ओलीको भाषण सुन्न आएको,’ उनले भने । तर, ओली को हो ? भन्ने हेक्का चाहिँ रहेनछ । उनीसँगै बसेका एक व्यक्ति भने ‘जसले राम्रो गर्छ त्यसकै’ भन्दै सिंहलाई नबोल्न निर्देशन दिँदै थिए ।
मधेशबाट आएकाहरुको आज प्रधानमन्त्रीको आमसभामा ठूलै उपस्थिति थियो । तर, उनीहरुलाई कहाँ के गर्ने भन्ने चाहिँ थाहा थिएन । उनीहरुसँग कुरा गर्न खोज्दा रोक्न आउनेहरुलाई आयोजकले राम्रैसँग परिचालन गरेका थिए ।
‘राम्रो हुँदैन…’ भन्दै उनीहरुलाई नबोल्न चेतावनी दिँदै थिए – सायद नेपाली भाषा राम्रोसँग नबुझ्नेलाई ल्याउने नेता मध्येका एक ।
मधेशबाट आएका धेरैजसो अन्यौलमा देखिन्थे । मञ्चतिर जाने बस्ने ठाउँ छैन । परिवारसहित आएकाहरुले एकअर्काको हात समाउँदै धक्कामुक्की गर्दै ओहोर दोहोर गर्दै थिए ।
त्यही भिडमा ओहोरदोहोर गर्दै थिइन् वीरगंजबाट आएका लक्ष्मी थरुनी पनि ।
उनलाई आज ओलीको कार्यक्रममा जाने भनेर काठमाडौं ल्याइएको रहेछ। गाउँको प्रत्येक घरबाट मानिसहरु आएको बताउने उनी खुशीयाली मनाउन आएको बताइन् ।
‘ओलीको खुशीयालीमा, केपी ओली जिन्दावाद,’ उनले भनिन् ।
केपी ओली को हो थाहा छ भन्ने प्रश्नमा उनले भनिन्, ‘सूर्य छाप, एमाले ।’
अनि उनी आफ्नो समूहसँगै महेन्द्र शालिक हुँदै फर्किइन् । ओलीकै भाषण नसुनी ।