नयाँ सदस्यता तथा नवीकरणमा प्रेस संगठन र मधेशी पत्रकार समाजको आपत्ति
टुडेपाटी-
जनकपुरधाम, माघ २३ गते ।
नयाँ सदस्यता तथा नवीकरण सदस्यतामा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले अनियमित तरिकाले केन्द्रीय समितिमा सफारिस गरेको भन्दै विरोध भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश– २ ले विधान विपरित नयाँ सदस्यता र नवीकरणका लागि गरेको सिफारिस प्रति प्रेस संगठन नेपाल प्रदेश समिति र मधेशी पत्रकार समाज नेपाल प्रदेश २ ले बेग्लाबेग्लै विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो ।
प्रेस संगठन नेपाल प्रदेश २ का संयोजक हिरालाल चौधरी र मेधशी पत्रकार समाज प्रदेश २ को अध्यक्ष वीरेन्द्र रमणद्वारा विज्ञप्तिमा महासंघका प्रदेश अध्यक्ष दिपेन्द्र चौहान र सचिव गुरुप्रसाद गौतमले चोरबाटोबाट विधान विपरित नयाँ सदस्यता तथा नवीकरणका लागि गरेको सिफारिसप्रति हाम्रो ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष र सचिवसहित महासंघमा आबद्ध प्रादेशिक समितिका पदाधिकारीहरुले विधान मिचेर प्रदेशमा रहेको ८ वटै जिल्लाका महासंघ जिल्ला शाखाको क्षेत्राधिकारलाई अवमूल्यन गरी नयाँ सदस्यता र नवीकरणका लागि गरेको सिफारिस अमान्य रहेको जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
महासंघको प्रादेशिक समितिले पत्रकारिता क्षेत्रमा रहेका क्रियाशील व्यक्ति सदस्यताबाट वञ्चित गर्दै निहत आस्थाका आधारमा तथा परिवार र नातावादलाई मलजल गर्दै अपारदर्शीरुपमा गरेको कार्य गलत रहेको ठहर समेत विज्ञप्तिमा छ ।
तर हाम्रो संस्थासंग आस्था राख्ने क्रियाशील संचारकर्मीहरुलाई सदस्यता र नवीकरणबाट वञ्चित गराउने कार्य गलत रहेको समाजका अध्यक्ष रमणले बताए ।
Sponsored
संगठनका प्रदेश अध्यक्ष हिरालाल चौधरीले नेपाल पत्रकार महासंघको विधान २०६० को चौथो संशोधन २०७३ को परिच्छेद ४ को दफा १८ को उपदफा २ (छ) मा सदस्यता सम्बन्धि निर्णयको अनुमोदन गर्ने, आवश्यक सुनुवाई गरी टुङ्गो लगाउने प्रष्ट प्रावधान हुँदाहुदैन पनि शाखा सँग कुनै किसिम पत्राचार र छलफलै नगरी विपरित आवेदन लिई नयाँ सदस्यता र नवीकरणको सिफारिस गर्नु गलत रहेको बताए ।
समाजका अध्यक्ष रमणले भने, ‘विधान विपरित गरिएको त्रुटिपूर्ण सिफारिस अविलम्ब सच्याउन माग गर्दछौ, अन्यथा उत्पन्न हुने परिस्थतिको जिम्मेवार महासंघको प्रादेशिक हुनेछ ।’
यता शाखामा आवेदन नै नदिएकाहरुलाई पनि दलगत आधारमा क्षेत्राधिकार बाहिर गएर प्रदेशका अध्यक्षले तिनीहरुलाई सदस्यता र नवीकारणका लागि सिफारिस गरेको भन्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जाराले जनाएका छन् ।