जलेश्वरमा २ शहीदको सालिक तोडिएको अवस्थामा पोखरीमा फेला
रञ्जन भण्डारी-
महोत्तरी, माघ २२ गते ।
महोत्तरीमा सहिदको सालिक तोडिएको अवस्थामा फेला परेको छ । जलेश्वर नगरपालिका– ९ प्रकौली चोकस्थित गोलम्बरमा राखिएको सहिद वीरेन्द्र विच्छा र राजेश ठाकुरको सालिक गोलम्बरभन्दा करिब सय मिटर पूर्व जानकी परीक्षण माविको पछाडि रहेको पोखरीमा फेला परेको हो ।
दुवै सालिकको टाउको तोडिएको अवस्थामा भेटिएको वडाध्यक्ष रविन्द्र यादवले बताए ।
सालिक तोडिएको घटना संवेदनशील भएको भन्दै प्रहरीसमेत अनुसन्धानमा लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी टीकाबहादुर केसीले जानकारी दिए । उनले सालिक तोडिएको घटनामा अनुसन्धान भइरहेको र दोषी पत्ता लाग्ने बताएका छन् ।
यता जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले सहिदको सालिक तोडिनु दुखद भएको भन्दै सालिक तोड्नेलाई कडा कारबाही गर्न माग गरेका छन् । उनले सहिदप्रति सबै राजनीतिक दलको सम्मान हुने गरेकोले यसमा कुनै राजनीतिक दलको संलग्नता हुन नसक्ने बताउँदै यसको सूक्ष्म अनुसन्धानका लागि आफूले प्रहरीलाई आग्रह गरेको बताएका छन् ।
उनले हालसम्म राजनीतिक दल वा व्यक्ति कसले यस्तो कार्य गरेको हो भन्ने नखुलेकोले स्थानीयहरूलाई आक्रोशित नहुन आग्रहसमेत गरेका छन् ।
Sponsored