भारतको आर्थिक वर्ष २०२१/२२ को बजेट सार्वजनिक, नेपालका लागि छुट्ट्यायो ९.९२ अर्ब भारु
टुडेपाटी-
नयाँदिल्ली, माघ १९ गते ।
भारतले आगामी अप्रिलदेखि सुरु हुने आर्थिक वर्ष २०२१/२२ को बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले सोमबार पहिलोपटक ट्याबलेटबाट पेस गरिएको हो । सोमबार बजेट भाषणको क्रममा सबै सांसदलाई पनि बजेटको डिजिटल कपी दिइएको थियो ।
बजेट भाषणको क्रममा सितारमणले भारतले एकसयभन्दा धेरै मुलुकलाई कोरोना खोप दिने बताएकी थिइन् । कोरोना महामारी अहिले विश्वभर फैलिएको अवस्थामा भारतले खोपका लागि तीन खर्ब ५० अर्ब भारु छुट्याएको छ । भारतले यस वर्षको स्वास्थ्य बजेट १३७ प्रतिशत बढाउँदै २२ खर्ब ३८ अर्ब ४६ करोड पुर्याएको छ ।
त्यस्तै भारतले आफ्नो नयाँ बजेटमा नेपाललाई दिने सहायतामा पोहोर सालको तुलनामा केही वृद्धि गरेको छ ।
आज वाचन गरिएको बजेटमा भारतले नेपाललाई सन् २०२१–२२ को आर्थिक वर्षका लागि अनुदानका रूपमा ९।९२ अर्ब भारु छुट्ट्याएको छ । पोहोर साल भारतले नेपाललाई ८ अर्ब भारु छुट्ट्याएको थियो । सन् २०१९–२० को आर्थिक वर्षको तुलनामा यो कम रकम हो । त्यतिखेर नेपाललाई ११ अर्ब ९८ करोड भारु छुट्ट्याइएको थियो ।
भारतका छिमेकीमध्ये भुटानपछि सबभन्दा धेरै रकम पाउने मुलुक नेपाल नै हो । भुटानले २१ अर्ब २४ करोड भारु पाउने भएको छ । दक्षिण एसियाका अन्य मुलुक अफगानिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्सले भारतबाट आर्थिक सहायता पाउने गरेका छन् ।
Sponsored
भारतले बीमा कम्पनीमा वैदेशिक लगानीको सीमा ४९ प्रतिशतबाट बढाउँदै ७४ प्रतिशत पुर्याउने बताएको छ । साथै सरकारी बैंकहरुलाई दुई खर्ब राहत दिने निर्णय गरेको छ । त्यस्तै वायुप्रदूषण नियन्त्रणको लागि २२ अर्ब १७ करोड भारु छुट्याइएको छ । त्यस्तै सन् २०२२ सम्म किसानहरुको आम्दानी दोब्बर बनाउने भारतको योजना छ ।
भारतले आत्मनिर्भर अभियानलाई पनि यस वर्षको बजेटमा जोड दिएको छ । त्यसका लागि सरकारले त्यसको स्वरुपमा सुधारको कार्यलाई बढाएको छ । भारतको आत्मनिर्भर स्वस्थ भारतक योजनाको लागि ६ वर्षमा ६ खर्ब ४१ अर्ब ८० करोड भारु छुट्याएको छ ।