TodayPati

म्यानमारकी नेतृ सूकी, राष्ट्रपति, मुख्यमन्त्री लगायतका शीर्ष नेताहरु पक्राउ, सैन्य ‘कू’ को आशंका

एजेन्सी

जनकपुरधाम, माघ १९ गते ।

म्यानमारको सेनाले नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई सेनाले नियन्त्रणमा लिएको छ।

Sponsored

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहानै उनीहरूलाई निवासबाट नियन्त्रणमा लिइएको हो।

जननिर्वाचित सरकार र सेनाबीच बढ्दो तनावका बीच सूकीलाई पक्राउ गरिएको हो ।

योसँगै म्यानमारमा पुनः अर्को सैन्य ‘कू’ को आशंका गरिएको छ । म्यानमारमा केही समयदेखि सैनिक कू हुने हल्ला चलिरहेको थियो।

Sponsored

यद्दपी सेनाले सोमबार बिहान नेताहरूलाई नियन्त्रणमा लिए पनि यसलाई सैनिक कू भनेको छैन।

नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र अर्को सहर रंगुनका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन् भने नेपिदअको सञ्चार सम्पर्क बिच्छेद गरिएको बिबिसीले जनाएको छ।

गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) ले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो। सेनाले भने उक्त चुनावमा धाँधली भएको बताउँदै आएको थियो।

सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्दै थियो। सेनाले यो बैठक नराख्न भनिरहेको थियो।

सन् २०१५ को चुनावपछि नै म्यानमारको सैनिकले नागरिक सरकारलाई पूर्ण सत्ता हस्तान्तरण गरेको थिएन।

गत नोभेम्बरको चुनावमा एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जित हात पारेपछि सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा खुम्चिएको थियो।

आफू समर्थित पार्टीले पाँच वर्ष पहिलाभन्दा निकै कम सिट पाएपछि सेनाले धाँधली भएको बताउँदै आएको थियो।

बर्मा पनि भनेर चिनिने म्यानमार सन् २०११ सम्म सैन्य शासन रहेको थियो । सूकीले लामो समय आफ्नै घरमा नै नजरबन्दमा बिताएकी थिइन् ।

सरकारी मिडिया एमआरटीभीले प्राविधिक कारण बताउँदै प्रशारण बन्द गरेको छ भने टेलिफोन र विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको थियो ।

सेनाहरु विभिन्न क्षेत्रका मुख्यमन्त्रीका घरमा पुगेर उनीहरुलाई पक्राउ गरेको परिवारिक स्रोतले जानकारी दिएका छन् ।

शनिबार म्यानमारको सेनाले संविधानअनुसार अघि बढ्ने बताएपछि म्यानमारमा सैनिक ‘कू’ को आशंका बढेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *