रमतेल डाँडा वनका अध्यक्ष राउत २ लाख ५० हजार धरौटीमा रिहा
टुडेपाटी-
महोत्तरी, माघ १७ गते ।
जिल्ला अदालत महोत्तरीले रमतेल डाँडा सामुदायिक वनका अध्यक्ष शेरबहादुर राउतलाई धरौटीमा रिहा गरेका छन् ।
वन कार्यालयले सोही सामुदायिक वनको जग्गा अतिक्रमण तथा वन फँडानी प्रकरणमा मुख्य अभियुक्त मानिएका राउतलाई पक्राउ गरेको थियो । पुस दोस्रो साता पक्राउ परेका उनी प्रहरी हिरासतमा थिए ।
न्यायाधीश दीपक खरेलको इजलासले अध्यक्ष राउतलाई आइतबार २ लाख ५० हजार रुपैयाँ धरौटी राख्न आदेश गरेका थिए । धरौटी बुझाएर अध्यक्ष राउत तारिखमा रिहा भएको महोत्तरी जिल्ला अदालतका सेस्तेदार मदनप्रसाद जैसवालले जानकारी दिए ।
०४३ सालमा वन कार्यालयले रोपेको विरुवा र वन लगाएको जग्गालाई अध्यक्ष राउतले व्यक्तिको जग्गा भएको दाबी गर्दै काट्न डिभिजन वनमा सिफारिस गरेका थिए । वन प्रकरणमा मुछिएका अरु २१ जनाविरुद्ध वारेन्ट जारी गर्न अदालतले आदेश दिएको छ ।
डिभिजन वन कार्यालय जलेश्वरले गएको शुक्रबार वनका कर्मचारीसहित २२ जनाविरुद्ध मुद्दा हालेको थियो । रमतेल डाँडा वन प्रकरणमा वनले ६ जनालाई मुद्दामा मुख्यअभियुक्त बनाइएको छ ।
Sponsored
अनुसन्धान अधिकृत रामसुन्दर साहका अनुसार, वन कार्यालयका सहायक वन अधिकृतसहित ७ कर्मचारी, मालपोत र नापीका १र१ जना गरि ९ जना कर्मचारीविरुद्ध मुद्दा परेको हो ।
१ जना वडा सदस्य, सामुदायिक वनका अध्यक्ष, २ जना जग्गाधनी, १ जना काठ व्यापारी र सर्जमिन मुचुल्कामा सहीछाप गर्ने अन्य ८ जनासहित २२ जना पनि मुद्दामा परेका छन् ।