सरकारले ३० वटा नेपाल-भारत सीमा नाका खुलाउने निर्णय गरेपनि अझै खुलेन रौतहटको नाका
टुडेपाटी-
रौतहट, माघ १७ गते ।
सरकारले नेपाल भारतको ३० वटा सीमा नाका खुलाउने निर्णय गरेपनि रौतहटको गौर नाका र बंकुल नाका खुल्न सकेको छैन ।
कोभिड १९ महामारीका कारण गत चैत १० देखि बन्द गरिएको नाका खुलाउन गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन पत्रचार गरेको थियो । तर, भारतले नाका नखुलाउँदा रौतहटको सीमा नाका बन्द नै रहेको छ ।
गृह मन्त्रालयको पत्राचारपछि रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, गौर नगरपालिकाका नगर प्रमुख अजयकुमार गुप्ता, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिद्धिविक्रम शाह, रौतहटका सशस्त्र प्रहरी बल प्रमुख सुरज सेन ओलीलगायतको टोली सीमा क्षेत्रमा पुगेको थियो ।
नेपाल सरकारको निर्णयअनुसार सीमा क्षेत्रमा हेल्प डेक्स स्थापना गरी सीमा क्षेत्रमा आवतजावत गर्नेको अभिलेख राख्न स्थानीय प्रहरी चौकीलाइ निर्देशन दिएको प्रजिअ यादवले बताए । नेपाल पक्षले सीमा क्षेत्र खुलाए पनि भारतीय पक्षले नखुलाएको यादवले जानकारी दिए ।
भारततर्फको नाका बन्द हुँदा नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोरदोहोर गर्न पाएका छैनन् । भारत तर्फबाट पनि यथाशीघ्र नाका खुलाउनु पर्ने गौर नगरपालिकाका नगर प्रमुख गुप्ता बताउँदछन् ।
Sponsored
सरकारले रौतहटको गौर र बंकुल, सर्लाहीको मलंगवा, बाराको मटिअर्वा र सिम्रौनगढ तथा पर्साको वीरगञ्जलगायतको नाका खुलाउने निर्णय गरेको थियो ।