जसपामा भाँडभैलो : राजेन्द्र महतो र महन्थ ठाकुरले उपेन्द्रलाई जनकपुरको भेलामा निम्तो पनि दिएन्
टुडेपाटी-
जनकपुरधाम, माघ १७ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि हतारमा पार्टी एकता गरेका तत्कालीन राष्टिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमबीच फेरि विवाद चर्किएको छ ।
जनकपुरमा आज हुने पुर्व जसपाका इन्जिनियरहरूको भेलालाई सम्बोधन गर्न नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो जनकपुरमा छन् । तर भेलामा पूर्व संघीय समाजवादी पार्टीनिकट इन्जिनियरहरूलाई निम्तो छैन ।
इन्जिनियर संघको भेलाको भोलिपल्ट राष्ट्रिय युवा संघको कार्यक्रम हुँदैछ । उक्त कार्यक्रमलाई पनि ठाकुर र महतोले नै सम्बोधन गर्नेछन् ।
ती कार्यक्रममा उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राईलगायतका नेतालाई निम्ता छैन । गत वैशाख १० मा संघीय समाजवादी पार्टीसँग रातारात एकता गरेको राजपाले संगठन अभ्यास भने पुरानै संरचनामा गरिरहेको छ ।
Sponsored
यो अभ्यास राजपा एक्लैले गरेको पनि होइन । संघीय समाजवादी पार्टीको पूर्व संरचना पनि त्यसरी नै चलेको छ । जस्तो, समाजवादीले युवा संघकै भेला इटहरी, जनकपुर र पोखरामा आयोजना गर्यो, जहाँ उपेन्द्र यादव र बाबुराम भट्टराईलाई निम्ता गरियो तर ठाकुर र महतोले सुइँको पाएनन् ।
यादव र बाबुरामको पूर्वसमूह समाजवादीले महिला संगठनको भेला गर्दा पनि ठाकुर र महतोले निम्ता पाएनन् ।
अहिले फेरि माघ १७ र १८ मा हुने इन्जिनियर र युवा संघको भेलामा यादव र भट्टराईलाई बोलाइएन ।
पूर्वसमूहको भ्रातृ संगठनले कार्यक्रम गर्दा अर्को समूहलाई बोलाउँदैनन् । पार्टी एकता भएको १० महिनामा अध्यक्ष महन्थ ठाकुर समाजवादीको पार्टी कार्यालय गएका छैनन् ।
राजपाको पुरानो कार्यालय भएको बबरमहलको कार्यालमा ठाकुर गइरहन्छन्, जहाँ उपेन्द्र यादवको आवतजावत छैन ।
प्रतिनिधिसभा विघटनको मुद्दामा पनि जसपाभित्र विवाद छ ।
पूर्वराजपा समूह प्रतिनिधिसभा पुनःस्थापना नभई निर्वाचनमा जानुपर्ने पक्षमा मत राखिरहेको छ ।
तर, उपेन्द्र यादव, बाबुराम भट्टराईसहितको समाजवादी समूह निर्वाचनको पक्षमा छैन ।