TodayPati

सहिद दुर्गानन्द झाको ५८ औं बलिदानी दिवस मनाइयो

टुडेपाटी-
जनकपुरधाम, माघ १५ गते ।

राजामाथि बम प्रहार गर्ने प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झाको बिहीबार ५८ औं बलिदान दिवस मनाइएको छ ।

अमर शहीद दुर्गानन्द झा स्मारक निर्माण समितिद्वारा बिहीबार जनकपुरधाममा उनको बलिदानी दिवस मनाइएको हो ।

Sponsored

बलिदान दिवसमा बोल्दै समितिका अध्यक्ष समेत रहेका दुर्गानन्दका सहयात्री प्रजातन्त्र सेनानी राजेश्वर नेपालीले उनको पूर्णकदको अष्टधातुको ६ फिटको प्रतिमा तयार भएको ९ वर्ष बितिसक्दापनि घटनास्थल जानकी मन्दिर परिषरमा स्मारक निर्माणका लागि शिलान्यास भएको पनि ८ वर्ष बितिसकेको भएपनि केही विरोधी तत्वहरुको बक्रदृष्टिका कारण स्मारक निर्माण नभएको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साहले अमर शहीद दुर्गानन्दको बलिदानी दिवसलाई राष्ट्रव्यापीरुपमा मनाउन र सोबाट दलहरुले शिक्षा लिन आवश्यक भएको बताए । कार्यक्रममा जीउंदो शहीद महेन्द्र मधुकर, रामहृदयप्रसाद, चन्द्रशेखर राय,रामगोविन्द यादव, केवल शर्मा, नेपाल प्रेस यूनियनका पूर्व केन्द्रिय सदस्य श्रीनारायण साह, पत्रकार कमल साह, उपेन्द्र भगत नागवंशी, पञ्चलाल दास लगायतका बुद्धिजीविहरुले दुर्गानन्दको योगदनमाथि प्रकाश पारेका थिए ।

जननायक विशेश्वप्रसाद कोईराला नेतृत्वको सरकारलाई तत्कालिन राजा महेन्द्रद्धारा वि.सं.२०१७ सालमा प्रजातन्त्रको हत्या गरिएको एक वर्षपछि वि.सं. २०१८ साल माघ ९ गते राजा जनकपुरधाम आउंदा १९ वर्षीय युवा नेता दुर्गानन्द झाले जानकी मन्दिर प्राङ्गणमा राजा सवार गाडीमाथि बम प्रहार गर्दा राजा बल्लतल्ला बांचेका थिए । दुर्गानन्दलाई सुरक्षाकर्मीले पक्राउ गर्न सकेन ।

Sponsored

उनको नाममा पक्राउ परेका अन्य साथीहरुमाथि वर्वतापूर्ण यातना दिएको सुनेपछि स्वयं २०१८ साल वैशाखमा दुर्गानन्दले आफै गिरफ्तारी दिएका थिए । उनलाई वि.सं.२०२० साल माघ १५ गतेको रातिमा काठमाण्डौस्थित सुनधारा केन्द्रिय कारागारमा फांसी झुण्ड्याई गोली हानेर मृत्युदण्ड दिइएको थियो । उनले हातमा गीता पुस्तक लिएर हांसीहांसी प्रजातन्त्रका लागि मृत्युवरण गरेका थिए ।

उनी धनषाको जटही निवासी देवनारायण झा र माता सुकुमारी देवी झाका एक मात्र सन्तान थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *