किसान आन्दोलनले भारतमा उथलपुथल : एक किसानको मृत्यु, ८६ प्रहरी घाइते
टुडेपाटी-
नयाँदिल्ली, माघ १४ गते ।
कृषिसम्बन्धी कानुनको विरोधमा भइरहेको किसान आन्दोलनले भारतमा उथलपुथल भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतको गणतन्त्र दिवसका दिन मंगलबार किसानले निकालेको ट्याक्टर र्यालीका क्रममा झडप हुँदा ८६ प्रहरी घाइते भएका छन् ।
यस्तै सडकमा राखिएको बार तोडेर ट्याक्टर लान खोज्दा दुर्घटना भएर एक किसानको मृत्यु भएको छ । उनी उत्तराखण्डस्थित बाजपुरका किसान नवनीत थिए । उनको शव राखेर मंगलबार साँझसम्म किसानले धर्ना दिएका थिए ।
प्रहरीले ट्याक्टर र्यालीका लागि दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्मको समय सीमा र रुढ तोकिदिएको पनि किसानले त्यसभन्दा अघि नै र्याली निकालेका थिए ।
Sponsored
किसान बिहान साढे ८ बजे नै ट्याक्टरसहितको जुलुस निकालेर राजधानी दिल्लीमा जबर्जस्ती प्रवेश गरेका थिए । दिनभर भएको झडपमा ८६ प्रहरी घाइते भएका हुन् ।
दिल्लीमा मंगलबार भएको हिंसापपछि गृहमन्त्री अमित शाहले उच्चस्तरीय बैठक बोलाए। उनले राजधानीमा अर्धसैनिक बलका अतिरिक्त कम्पनीलाई पनि पठाउन आदेश दिए । दिल्ली प्रहरीलाई स्थिति नियन्त्रणमा लिन आदेश दिए ।
यस मामिलामा दिल्ली प्रहरीले ७ जनाविरुद्ध एफआरआई (उजुरी) दर्ता गराएको छ । यस्तै दिल्लीमा भएको हिंसापछि हरियाणा राज्यले आपतकालीन मन्त्रिपरिषद् बैठक बोलायो। मुख्यमन्त्री खट्टरले प्रहरीलाई हाई अलर्टमा बस्न निर्देशन दिए । साथै किसानलाई घर फर्किन अपिल पनि गरे ।