प्रदेश २ का मुख्यमन्त्री, मन्त्री र जसपाका नेताहरुबीच भागबण्डा नमिल्दा नियुक्ति रोकिए
टुडेपाटी-
जनकपुरधाम, माघ १४ गते ।
प्रदेश २ को नीति तथा योजना आयोग लगभग एक वर्षदेखि सदस्यविहीन छ।
मुख्यमन्त्री अध्यक्ष रहेको आयोगमा प्रदेश सरकारले १ उपाध्यक्ष, १ महिलासहित बढीमा ६ जना सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहनेगरी बढीमा ८ जनाको आयोग गठन गर्ने व्यवस्था छ।
आर्थिक वर्ष ०७४\०७५ मा १ उपाध्यक्ष र १ सदस्य नियुक्ति भएकोमा आर्थिक वर्ष ०७५/०७६ मा ३ सदस्य थप गरी पदेन सदस्यसमेत गरी ७ सदस्यीय आयोग गठन गरिएको थियो।
यद्यपि सोही वर्ष उपाध्ययक्ष तथा सदस्यहरुलाई दफा १५ बमोजिम हटाएर एक जना उपाध्यक्ष नियुक्त गरिएको थियो। एक वर्षदेखि उपाध्यक्ष तथा अन्य सदस्यहरुको नियुक्ति हुन सकेको छैन ।
Sponsored
पार्टीको समायोजन प्रक्रिया पूरा नभएकाले सदस्यहरुको नियुक्ति हुन नसकेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रतिक्रिया दिए।
उनले पार्टीको समायोजन प्रक्रिया पूरा भएलगत्तै नियुक्तिको काम पूरा गरिने जानकारी दिए।
प्रदेश २ मा मुख्यमन्त्री र मन्त्रीहरुबीच भागबण्डा नमिल्दा प्रदेशमा हुनुपर्ने कैयौं राजनीतिक नियुक्ति हुन सकेको छैन।
संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता भएपछि बनेको जनता समाजवादी पार्टी (जसपा) भित्रै भागबण्डाका लागि विवाद भइरहेका कारण नियुक्ति हुन नसकेको हो।
पार्टीभित्रै मन्त्रीहरुबीचमा गुटबन्दी चलिरहेको र आ–आफ्ना व्यक्तिलाई नियुक्ति गर्नुपर्ने अडानका कारण यस्तो अवस्थाको सिर्जना भएको जसपाकै एक नेताले बताए।
भागबण्डाकै विवादका कारण प्रदेश २ सरकारले प्रादेशिक अस्पताललाई प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने लक्ष्य लिए पनि त्यसका पदाधिकारीहरुको नियुक्ति भने अझैसम्म गर्न सकेको छैन।
प्रदेशसभाबाट प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित भइसके पनि पार्टीभित्र र मुख्यमन्त्री तथा मन्त्रीहरुबीचको विवादकै कारण प्रतिष्ठानको नियुक्ति अड्किएको छ।
प्रतिष्ठानको कुलपति मुख्यमन्त्री रहने प्रावधान छ। उपकुलपति, रजिस्ट्रार तथा निर्देशक नियुक्ति प्रदेश सरकारले गर्ने प्रावधान छ।
एकटा कहबी छै गाउँघर मे ” एहि बेटा स पोताक आश नहि करु” प्रदेश 2 सरकार मे रहनिहार सब मे इ कहबी नीक जका लागू होइय ।