TodayPati

सप्तरीमा कडा सुरक्षाबीच ओली समूहको शक्ति प्रदर्शन, गर्जे पोखरेल

शुभ नारायण यादव –
सप्तरी , माघ १३ गते ।

शत्तापक्षीय नेकपाले अाज सप्तरीको राजविराजमा शक्ति प्रदर्शन गरेको छ ।

संसद विघटन बिरुद्ध विपक्षिले आन्दोलन तताइरहेका बेला सत्तापक्षिय पार्टीले सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलको उपस्थितिमा शक्ति प्रदर्शन गरिएको हो ।

Sponsored

नेकपा सप्तरी (ओली समूह) द्वारा राजरंगशालामा आयोजित बृहत कार्यकर्ता भेलालाई प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै सचिवालय सदस्य एवं उपप्रधानमन्त्री पोखरेलले पार्टी फुटाउन प्रयास गरेका प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री ओलीमाथी लगाइएको निराधार आरोप फिर्ता लिएर निर्वाचनमा मिलेर जान तयार भए एकताको सम्भावना रहेको बताएका छन् ।

निर्वाचन आयोगले हालै गरेको निर्णयबाट पनि प्रथम अध्यक्ष केपी ओली, द्वितीय अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल रहेको पार्टी नै आधिकारीक हुने उल्लेख रहेको भन्नु हुदै उनले बिरोधमा उत्रेका प्रचण्ड र माधव नेपाललाई यी दुई सर्त पुरा गर्दै एकताबद्ध भई अघि बढ्न सुझाव समेत दिएका छन् ।

आफूहरुको पार्टीले नै चुनाव चिन्ह सूर्य छाप पाउने तथा निर्वाचनमा उम्मेदवारीका लागि केपी ओलीद्वारा हस्ताक्षरित पत्र नै आधिकारीक हुने दाबीका साथ उपप्रधानमन्त्री पोखरेलले भने ‘हाम्रो सल्लाह मान्नुहुन्न भने तपाईहरुको भविष्य पनि सुनिश्चित हुने छैन ।’

Sponsored

प्रतिनिधिसभाको गत निर्वाचनमा केपी ओलीको नाममा भोट मागेको र विकास तथा समृद्धिको प्रतिबद्धता गरेकोमा दुई वर्ष नपुग्दै प्रधानमन्त्रीलाई धक्का मारेर हटाउने षडयन्त्रमा प्रचण्ड लागेको उनको आरोप थियो ।

‘ उहाँहरु पार्टी फुटाउन लाग्नु भो, ओलीलाई निस्काशनको षडयन्त्र थाल्नु भयो यस्तो अनैतिक र षडयन्त्रपूर्ण काम हामी कदापी स्वीकार्न तयार छैनौं ।’ उनले भने ।

आफ्ना अभिव्यक्ति मैथिलीमा राख्दै उहाँले राजविराजमा वरिष्ठ गणतन्त्रवादी नेता स्व. रामराजा प्रसाद सिंहको नाममा स्थापना हुने रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास प्रधानमन्त्री ओलीबाटै चाडै हुने जानकारी पनि दिए ।

यसैगरि राजविराज औद्योगिक क्षेत्रको स्तरोन्तरीका लागि पनि सरकारले तयारी गरिरहेको भन्दै उनले कोरोनाका कारण लामो समयदेखी बन्द रहेको नाकाहरु समेत छिट्टै सूचारु गर्ने मन्त्रीपरिषदले निर्णय समेत गरिसकेको जानकारी दिए ।

कार्यक्रममा सहरी विकास मन्त्री प्रभु साहले प्रचण्ड पद बिना एक मिनेट पनि बाच्न नसक्ने स्वभावका रहेको भन्दै सत्ता र पदकै लागि पार्टी फुटाउने षडयन्त्रमा लागेको आरोप लगाए ।

प्रचण्ड ३० वर्षदेखी नियमित पदमै बसेका छन्’ उनले भने ‘ ‘अहिले पनि पद र सत्ताकै लागि पार्टीमा भाडभौलो मचाएका हुन् । १७ हजार मानिसको हत्या हुँदा समेत नपुगेर फेरी साकाहारी आन्दोलनले काम नचलेको भन्दै प्रचण्ड हिडेका छन् । अब उहाँको मान्साहारी आन्दोलन जनताले पत्तयाउने बाला छैन ।’

नेकपा सप्तरी (ओली समूह) का संयोजक ताराकान्त चौधरीको अध्यक्षतमा आयोजित बृहत भेलालाई कानुन मन्त्री लिलानाथ श्रेष्ठ, महिला बालबालिका मन्त्री जुली महतो, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सचिवालय सदस्य रघुबिर महासेठ, केन्द्रिय सदस्य सुखराम यादव, रन्जु ठाकुर, ज्वाला साह लगायतले पनि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दाबी गरेका थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका दुई दर्जन नेता कार्यकर्तालाई प्रमुख अतिथि पोखरेलले फुलमाला अविर लगाई स्वागत गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *