मोबाइल चोरेको निहुँमा बाराकी एक महिलाको कुटपिट गरी हत्या, जलेको अवस्थामा शव बरामद
टुडेपाटी-
काठमाडौं, माघ १२ गते ।
काठमाडौंमा मोबाइल चोरेको निहुँमा एक महिलाको कुटपिट गरी हत्या भएको छ ।
पशुपतिनाथ परिसरस्थित राममन्दिर नजिकै बस्दै आएकी बारा श्रीपुरकी बबिता चौधरीको कुटपिट गरी हत्या भएको हो ।
हत्या आरोपमा बबिताका श्रीमान ३८ वर्षीय रवि चौधरी र नुवाकोट ककनीकी २५ वर्षीय अनु थापालाई महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको छ ।
वृत्तका इन्स्पेक्टर जनकराज ढुंगानाका अनुसार मन्दिर परिसरमै बस्दै अाएकी अनुको मोबाइल चार दिनअघि बबिताले चोरेको खुलेको थियो ।
मोबाइल चोरी भएपनि अनुले आफ्ना साथी बोलाएर बबितालाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए भने श्रीमान् रविले पनि बबितालाई कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते बबिताको शनिबार दिउँसो मृत्यु भएपछि अनु त्यहाँबाट भागेकी थिइन् । शव भने बसेकै ठाउँ नजिकै खाल्डो खनेर पुर्ने योजना रविले बनाए पनि असफल हुँदा शनिबार राति नै अनु सुतेकै ठाउँमा दाउरा र कपडाले शव रविले जलाएका थिए ।
Sponsored
शव जलाएको जानकारी पश्चात् प्रहरीले बबिताको अर्ध जलेको शव बरामद गरेको छ । शव जलाउने श्रीमान् रविलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको जनाएको छ ।
मृतक बबिताको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको इन्सपेक्टर ढुंगानाले जानकारी दिए ।