चिनियाँ र भारतीय सैनिकबीच सिक्किममा भएको भिडन्तको समाचार झुठो
टुडेपाटी-
जनकपुरधाम, माघ १२ गते ।
भारतीय सञ्चारमाध्यमहरूले चिनियाँ र भारतीय सैनिकहरूबीच तीन दिनअघि सिक्किममा भिडन्त भएको भनी दिएको खबर झूटो भएको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले सोमवार खबर दिएको छ ।
चिनियाँ जनमुक्ति सेनाको अग्रमोर्चा गश्ती दैनन्दिनीमा यस घटनाको कुनै उल्लेख नभएको ग्लोबल टाइम्सको दाबी छ ।
हालैका दिनमा दुवै पक्षका शीर्ष नेताहरूले नवौं चरणको कमान्डर स्तरीय वार्ता गरेको र सीमामा कुनै भिडन्त नभएको ग्लोबल टाइम्स लेख्छ ।
दुई देशका अग्रमोर्चाका सैनिकहरूबीच सानतिना झडप हुने गरेको तर हताहती नै हुने गरी भिडन्त भएको भए चिनियाँ गश्तीको रेकर्डमा त्यसको उल्लेख हुनुपर्ने पत्रिकाले लेखेको छ ।
भारतीय सेनाले समेत घटनाको बारेमा स्पष्टीकरण दिँदै नाकु ला क्षेत्रमा सानतिनो गतिरोध भएको र स्थानीय कमान्डरहरूले त्यसलाई सामसुम पारेको बताएको छ । मिडियालाई गलत तथ्य बढाइचढाइ नगर्न पनि उसले आग्रह गरेको छ ।
Sponsored
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिजियानले सोमवार नियमित पत्रकार सम्मेलनमा चीन र भारतबीच नयाँ चरणको सैन्य वार्ता भएको र दुवै पक्षले सान्दर्भिक सूचना यथाशीघ्र प्रकाशित गर्ने बताएका छन् । एजेन्सी