TodayPati

सर्लाहीमा बर्दीमै तास खेल्ने र भिडियो बनाउने १४ जना प्रहरीलाई कारबाही, यी हुन् ती प्रहरीहरु

टुडेपाटी

सर्लाही, माघ ९ गते ।

सर्लाहीको बरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ ।

Sponsored

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को (२) ले दिएको अधिकारको

प्रयोग गरी सोही नियमावलीको नियम १०९ को खण्ड (क) (७) बमोजिम १४ प्रहरी कर्मचारीलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सो विषयमा छानबिन अघि बढाएको थियो ।

Sponsored

छानबिनपछि ६ प्रहरी जवान, दुई प्रहरी हवल्दार र दुई प्रहरी सहायक निरीक्षकलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

भिडियो खिच्ने र मिडियासम्म पुर्‍याउने पाँच जनालाई हालको पदको ज्येष्ठतासहित खाइपाइ आएको सुरु स्केलमा घटुवा गर्ने, तास खेल्ने पाँच जनालाई नसिहत र तास खेलेको हेर्ने दुई जनालाई सख्त चेतावनी दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए।

अनुसन्धानका क्रममा भिडियो एक वर्ष पहिला नै खिचेको पाइएको पनि उनले बताए ।

तास खेल्ने, भिडियो बनाउने र भिडियो मिडियासम्म पुर्‍याउने प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार र प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरथहवामै झिकाएर कारबाही गरिएको इलाका प्रहरी कार्यालय बरथहवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।

प्रहरीले बर्दी लगाएर तास खेलेको भिडियो आफूलाई पुस २१ गते मात्र प्राप्त भएको बताउँदै प्रहरी नायब उपरीक्षक भाटले छानबिन समिति बनाएर छानबिन गरेका थिए ।

उक्त तास खेलेको तथा भिडियो खिचिएको समयमा आफू सर्लाहीमा नै नभएको बताउँदै आएका प्रहरी नायब उपरीक्षक भाटले अनुसन्धानपछि भिडियो एक वर्ष पहिला नै तयार पारिएको र आफू त्यो समयमा सर्लाहीमा नआएको बताएका छन् ।

भिडियो एक वर्ष पहिलाकै रहेको साथै तास खेल्ने, हेर्नेमध्येका धेरैजसो प्रहरी कर्मचारी पहिले नै सरुवा भएर अन्यन्त्र गइसकेका र उनीहरुलाई आफ्नो कार्यालयमा झिकाएर कारबाही गरिएको उनले बताए ।

कारबाही पर्नेमा प्रहरी जवान मोहन थापा, अर्जुनकुमार सिंह, राजकिशोर भण्डारी, गीता चौधरी र सन्तोषकुमार यादवको खाइपाइ आएको सुरुको तलबमा घटुवा गरिएको छ ।

त्यसैगरी प्रहरी सहायक निरीक्षक प्रमोदप्रसाद यादव र राजकुमार साहका साथै प्रहरी हवल्दार महेशप्रसाद यादव, रामबाबु साह र प्रहरी जवान जीतनारायण रायलाई पहिलोपटक नसिहत दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

अरु दुई प्रहरी जवान सञ्जयकुमार साह र तिलबहादुर मगरलाई सख्त चेतावनी दिइएको सर्लाही प्रहरीले जनाएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यलय लालबन्दीमा कार्यरत प्रहरी हवल्दार पुष्पजङ्ग कार्की र अस्थायी ट्राफिक प्रहरी पोस्ट लालबन्दीमा कार्यरत प्रहरी जवान नवराज खड्कालाई पनि कारवाही गरिएको छ ।

उनीहरुबीच सवारी साधनलाई कारबाही गर्ने विषयमा विवाद हुँदा बर्दीमै ड्युटीमा रहेको समयमा बीच सडकमै हानाहान भएको थियो । उनीहरु दुवैलाई सख्त चेतावनीसहित २ नम्बर प्रदेश दङ्गा नियन्त्रण ढल्केवरमा कारबाहीका लागि पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।

रासस

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *